तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीका एक शिक्षकसहित दुई सङ्क्रमितको मृत्यु

सप्तरी । सप्तरीका दुई जना कोरोना सङ्क्रमितको मङ्गलवार बिहान उपचारको क्रममा मृत्यु भएको छ ।
सप्तकोसी नगरपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत ४५ वर्षीय शिक्षकको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान मातहतमा रहेको कोभिड–१९ अस्पतालमा मृत्यु भएको हो ।
ज्वरो आएर श्वास फेर्न समस्या भएपछि उहाँलाई वैशाख ८ गते अस्पताल भर्ना गरिएको थियो । एक सातादेखि उनलाई आइसियुमा राखेर उपचार हुँदै आएकोमा आज बिहान मृत्यु भएको सोही विद्यालयका शिक्षक महेश मास्केले जानकारी दिनुभयो ।
यसैगरी हनुमाननगर कंकालीनी नगरपालिका–२ का ३५ वर्षीय पुरुषको पनि बिहान पौने ६ बजे मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उहाँलाई उपचारको लागि वैशाख १७ गते विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा उहाँको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो  ।
योसँगै सप्तरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button