सीमा नाकामा जाँच छैन, भारत आवातजावत निर्बाध

जलेश्वर। महोत्तरी जिल्लासँग जोडिएको भारतीय सीमा नाकामा कोरोना सङ्क्रमणको जाँच नहुँदा भारत आवतजावत पनि निर्बाध रूपमा भइरहेको छ । कोरोना महामारीको दोस्रो लहरबाट निकै प्रभावित भएको भारतबाट नेपालतर्फ खुलेआम आवतजावत भइरहेको छ । अहिलेको अवस्थामा भारतबाट आउने जोकोहीलाई पनि सीमामा सञ्चालित हेल्थ डेस्कमा अनिवार्य जाँच गर्नुपर्ने र आवश्यक परे होल्डिङ सेन्टरमा राख्नुपर्ने व्यवस्था रहे पनि कोही कसैलाई कुनै पनि जाँचसम्म नगरेको देखिएको छ ।
जिल्लाको भिट्ठामोड, मटिहानी, सम्सी, रघुनाथपुर, कट्टीकटैया, बथनाहा, मरुवाही, चौरिया, पर्सापतैली, मसुरपट्टीसहितका नाकामा खुलेआम भारतीय नागरिक नेपाल र नेपाली नागरिक भारततर्फ गइरहँदा पनि कुनै जाँच तथा कोरोनाविरुद्ध सतर्कता अपनाइएको छैन ।
महोत्तरीमा करिब ४५ किलोमिटर भारतसँगको खुला सिमाना रहेको छ । जिल्लामा तीन वटा भन्सार नाका र आठ वटा खुला गरी ११ वटा आउजाउ गर्ने बाटाहरू रहेका छन् । यद्यपि कुनै पनि स्थानबाट नेपाल भारत आउजाउ गर्ने कसैलाई पनि कुनै स्वास्थ्य मापदण्डको पालना गराइएको छैन । यसले महोत्तरीमा कोभिड–१९ महामारीको सङ्क्रमण थप बढाउने जोखिम देखिएको छ ।रासस








प्रतिक्रिया राख्नुहोस्