तपाईँ सुन्दै हुनुहुन्छः

बिर्तामोडको जग्गा ठगी काण्डमा पक्राउ परेका ९ जना कारागार चलान

झापा । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडको करोडौँ मूल्यको जमिन हडप्ने योजनामा संलग्न भएको आरोपमा पक्राउ परेका १० जनामध्ये नौ जनालाई झापा कारागार चलान गरिएको छ । घटनामा संलग्न एक जना धरौटीमा रिहा भएका छन्, भने वडाध्यक्षसहित ६ जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला अदालत झापाले बाह्रदशी गाउँपालिका ३ स्थायी ठेगाना भई हाल बिर्तामोड नगरपालिका २ चैतुवारी बस्ने ३९ वर्षीय मङ्गलसिंह राजवंशी, भद्रपुर नगरपालिका ७ बस्ने ५२ वर्षीय नवीन कोइराला, भोजपुर जिल्ला तिवारी भञ्ज्याङ्ग २ स्थायी ठेगाना भई हाल गौरीगञ्ज गाउँपालिका १ बस्ने ३७ वर्षीय बलराम विश्वकर्मा (सुशील), अर्जुनधारा नगरपालिका ५ बस्ने ५३ वर्षीय लेखनाथ खनाल, बिर्तामोड नगरपालिका ४ बस्ने ३४ वर्षीय गोविन्द बान्तवा (मिलन) र उनकी श्रीमती ३२ वर्षीया रञ्जु राई, बिर्तामोड नगरपालिका १० बस्ने ७२ वर्षीय देवीप्रसाद पाण्डे, बाह्रदशी ५ बस्ने ५० वर्षीय लिलाधर राजवंशी र शिवसताक्षी नगरपालिका ८ बस्ने ४२ वर्षीय भूपदेव कटुवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
पक्राउ परेका १० जनामध्ये सात जना पुर्पक्षका लागि र दुई जना धरौटी तिर्न नसकेर कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिनु भयो । अदालतले लिलाधर र भूपदेवको नाममा १ लाख ५० हजार रुपैयाँ धरौटी तोकेको थियो ।
त्यसैगरी मोरङको उर्लाबारी नगरपालिका ४ बस्ने राजन विश्वकर्मा ५० हजार रुपैयाँ धरौटी तिरेर रिहा भएका छन् । घटनामा संलग्न गौरादह नगरपालिकाका ७ नम्बर वडाध्यक्ष बलराम खरेल, भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरका अधिकृत चेतन अधिकारी, भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरका तत्कालीन नायव सुब्बा हरि तिवारी, ओखलढुङ्गा चिशंखुगढी गाउँपालिका ७ बस्ने ५६ वर्षीय वेगप्रसाद कोइराला, खोटाङ हलेसी तुवाचुङ्ग नगरपालिका – ११ स्थायी ठेगाना भई काँडाघारी काठमाडौँ बस्ने ३२ वर्षीय देवबहादुर विष्ट र भद्रपुर नगरपालिका ७ बस्ने ५३ वर्षीय प्रकाश कार्की अझै फरार रहेको डिएसपी थापाको भनाइ छ ।
उनीहरूले तीन वर्षदेखि योजना बनाएर बिर्तामोडका स्व. टुंङगबहादुर बस्नेतको नामको करोडौँ मूल्य पर्ने जग्गा अधिकृत वारेसनामासहित किर्ते कागजात बनाएर बिक्री गरेको पाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button