कोरोना रोकथामका लागि कर्णालीका १० जिल्लामा थप १/१ करोड बजेट
जुम्ला । कर्णाली प्रदेश सरकारले दोस्रो लहरको कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि थप बजेटको व्यवस्था गरेको छ । कर्णाली प्रदेशका १० वटै जिल्ला अस्पतालमा अक्सिजन सिलिन्डर र अक्सिजन आपूर्ति गर्न अस्पतालहरूलाई थप बजेट प्रदान गर्ने निर्णय गरेको छ ।प्रदेशका १० जिल्लामा रहेका जिल्ला अस्पतालहरूलाई १/१ करोड बजेट उपलब्ध गराउने निर्णय भएको छ ।
यस्तै, कर्णाली प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी अस्पताल रुकुम पश्चिमलाई एक/एक करोड थप बजेट दिइने भएको छ । भने, मेहलकुना अस्पताल र दैलेख अस्पताललाई ५०/५० लाख रुपैयाँ कोरोना रोकथाम तथा नियन्त्रणका लागि दिइने छ ।
कोरोना रोकथाममा बजेट अभाव हुन नदिन विषयगत मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध बजेटबाट कोरोना कोषमा ५० करोड बजेट रकमान्तरण गरिएको कर्णाली सरकारका प्रवक्ता मन्त्री विमला केसीले बताउनुभयो । उनले उक्त रकम कोभिड–१९ सँग सम्बन्धित समस्याहरू समाधानका लागि १० वटै जिल्लामा खर्च गरिने भएको छ ।
१० वटै जिल्ला अस्पताल, प्रतिष्ठानमा प्रदेश विपद् व्यवस्थापन कोषबाट रकम पठाइने प्रवक्ता केसीले जानकारी दिइन् । यसअघि पनि कर्णाली प्रदेश सरकारले १० वटा जिल्लामा अक्सिजन खरिद र कोभिड रोकथामका लागि ४०/४० लाख बजेट विनियोजन गर्ने निर्णय गरेको थियो ।
कोरोना रोकथाममा प्रदेश स्तरको १ अर्बको कोष खडा भएको छ । अघिल्लो बजेटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उपेक्षा गरिए पनि यस पटक कोरोना रोकथामका लागि १ करोड बजेट उपलब्ध गराइएको छ ।
राहत प्याकेज घोषणा
कर्णाली प्रदेशमा कोरोना भाइरसको संक्रमण भयावह बन्ने खतरा बढेपछि कर्णाली सरकारले नागरिकहरूका लागि राहतका प्याकेज घोषणा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु भएका परिवारलाई जनही एक लाख राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
सङ्क्रमणबाट मृत्यु भएका परिवारलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाएर प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलब्ध गराउने निर्णय गरिएको सरकारका प्रवक्ता विमला केसीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्