बेलौरी नगरपालिकाद्वारा अत्यावश्यक बाहेक अन्य सबै सेवा स्थगन

कञ्चनपुर । दिन दुई गुणा, रात चार गुणाका दरले वृद्धि भइरहेको कोभिड–१९ को सङ्क्रमणले यति बेला कञ्चनपुरको जनजीवन अस्तव्यस्त बनेको छ । अहिले कञ्चनपुर जिल्लामा समेत जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । जिल्लाभर निषेधाज्ञा जारी रहेको अवस्थामा आम सर्वसाधारण नागरिकहरूलाई अत्यावश्यक कामकाज बाहेक घरबाहिर निस्कन निषेध गरिएको छ ।
यस्तो अवस्थामा सेवा प्रदायक निकाय, त्यसमा पनि स्थानीय सरकारको भूमिका निर्वाह गरिरहेका स्थानीय जनप्रतिनिधि तथा कर्मचारीहरूले नागरिकको स्वास्थ्य अवस्था प्रति बढी गम्भीर हुनुपर्ने बेला हो । यो समयमा सरकारी कार्यालयहरूमा साबिकको जस्तो कामको चाप हुँदैन र हुन दिनु पनि हुँदैन । नागरिकसँग प्रत्यक्ष जोडिएका ती कार्यालयहरूले समेत अत्यावश्यक कामकाज बाहेकका सबै सेवा स्थगन गर्नुपर्ने हुन्छ ।
कञ्चनपुरका अधिकांश स्थानीय तहहरूले केही दिन पहिले नै अत्यावश्यक कामकाज बाहेकका सबै सेवा स्थगन गरी कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा ध्यान केन्द्रित गरेका थिए । तर बेलौरी नगरपालिका सहितका केही स्थानीय तहहरूले भने निषेधाज्ञाको समयमा समेत नागरिकलाई सबै किसिमका सेवा निर्बाध रूपमा दिन खोजे जस्तो गरेर प्रशासनको आदेशको बेवास्ता गरेको देखिन्छ ।
यद्यपि चौतर्फी आलोचना र दबाब पछि मात्रै बेलौरी नगरपालिकाले एक हप्तासम्मका लागि सेवा स्थगन गर्ने जनाएको छ । बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीद्वारा हस्ताक्षरित सूचनामा बेलौरी नगरपालिका र वडा कार्यालयहरूबाट प्रदान गर्दै आएको अत्यावश्यक स्वास्थ्य सेवा बाहेकका अन्य सबै सेवा आजदेखि यही वैशाख २६ गतेसम्म बन्द गर्ने उल्लेख गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्