झापामा ब्रिकेट उद्योगमा भीषण आगलागी, १५ करोडको क्षति

भद्रपुर, झापा । झापाको मेचीनगर–१५ ज्यामिरगढीस्थित पर्यावरणमैत्री एक ब्रिक्रेट उद्योगमा आज भीषण आगलागी भएको छ ।
आगलागीबाट १५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको उद्योगका सञ्चालक आदित्य पराजुलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार उद्योगको दक्षिणीतर्फ ब्रिकेट उत्पादन गरिने भवनमा भएको आगलागीबाट भवनसहित मेसिनरी औजार, कच्चा पदार्थ जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज बिहान ३ बजे लागेको आगो अहिले पनि पूर्णरुपमा नियन्त्रण हुन सकेको छैन । उद्योगभित्र ब्रिकेट उत्पादनका लागि उखुको खोस्टा, प्लाई र काठका टुक्राहरू प्रयोग गर्न राखिएकोले त्यहाँबाट सल्किएको आगो छिटो फैलिँदा नियन्त्रण गर्न समस्या भएको हो ।

आगो नियन्त्रणका लागि झापा र मोरङका आठ वटा दमकल, सशस्त्र, नेपाल प्रहरी, स्थानीयवासी परिचालन भएको डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।
आगलागीको कारण खुल्न सकेको छैन ।
भारतबाट आयातित कोइलामा निर्भर नेपालका चिया तथा इँटा उद्योगलाई लक्षित गरी झापामा आधुनिक स्तरको वातावरणमैत्री बायोमास ब्रिकेट उद्योग २०७५ फागुन १९ गतेदेखि सञ्चालनमा ल्याइएको थियो ।









प्रतिक्रिया राख्नुहोस्