भेरी अस्पतालका बिरामीलाई खाना खुवाउन उपमहानगरको सहयोग
बाँके । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत कोभिड संक्रमित र अन्य बिरामीका कुरुवालाई लक्षित गर्दै सञ्चालित अञ्जनी माता रसोइलाई नेपालगञ्ज उप–महानगरपालिकाले मासिक एक लाख ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।
विगतमा अस्पतालमा उपचाररत विपन्न बिरामी र कुरुवाहरूलाई २० रुपैयाँमा प्रति छाक बिहानको खाना खुवाइरहेको रसोइलाई उप–महानगरपालिकाले मासिक ५० हजार रुपियाँ सहयोग गरिरहेको छ । पछिल्लो समय कोभिडका बिरामीको सङ्ख्या बढेपछि रसोइले प्रति छाक ८० रुपियाँमा साँझको खाना खुवाइरहेको छ ।
रसोइले साँझको खाना खुवाउन आर्थिक अभाव भएको भन्दै उप–महानगरपालिकामा अनुरोध गरेपछि सोमबार बसेको कार्यपालिका बैठकले मासिक १ लाख ५० हजार रुपियाँ सहयोग गर्ने निर्णय गरेको हो । नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि नगरभित्र उपचार तथा अन्य सेवा प्रभावकारी रुपमा अघि बढाउन पहल गर्ने निर्णय गरेको छ ।
नगर क्षेत्रभित्र कोभिड बिरामीको सहजताका लागि एउटा एम्बुलेन्स सञ्चालनमा रहेको र अर्को एउटा एम्बुलेन्स समेत थप गर्ने निर्णय बैठकले गरेको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो । यसै गरी नगरभित्र होम आइसोलेसनमा बसेका बिरामीहरूलाई वडाका स्वास्थ्य फोकल पर्सनहरुले नियमित फोन सम्पर्क गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिई आवश्यक परामर्श दिने निर्णय बैठकले गरेको छ । भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा वाल मन्दिरमा तत्काल आइसोलेसन सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्