कोरोना सङ्क्रमितलाई अक्सिजनको मात्रा कमी हुन नदिन विज्ञका यस्ता छन् सुझाव

काठमाडौँ । पछिल्लो समय कोरोना सङ्क्रमणको दर उच्च हुँदै जाँदा अस्पतालमा बेड नपाएर कतिपय सङ्क्रमितहरू अक्सिजनको मात्रा कमी भई मृत्युवरण गर्नु परिरहेको छ ।
यस्तो अवस्थामा होम आइसोलेसनमा बसेका सङ्क्रमितमा अक्सिजनको कमी हुन नदिन, हावा ओहोरदोहोर हुने कोठामा बस्ने, लामो श्वास फेर्ने, घोप्टो परेर सुत्नु पर्ने जस्ता सुझाव चिकित्सकले दिएका छन् ।
घरमै बसेर स्वास्थ्य लाभ गरिरहेका कोरोना सङ्क्रमितमा श्वास फेर्न कठिन हुने, आत्तिएको जस्तो अनुभव हुने, कोखा हान्ने जस्ता लक्षण देखिएमा शरीरमा अक्सिजनको मात्रा कमी भएको भनेर बुझ्न सकिन्छ ।
जनस्वास्थ्यविद् डा. बासुदेव पाण्डेले यस्ता लक्षण देखिएमा कोठाका सबै झ्याल ढोका खुला राख्ने, भिडभाड नगर्ने, लामो–लामो श्वास लिने, नआत्तिने र नडराउने गर्नाले केही राहत मिल्ने बताउनुहुन्छ ।
पल्स अक्सिमिटरबाट ३० सेकेन्डसम्म जाँच गर्दा ९४ भन्दा माथि भयो भने शरीरमा अक्सिजन सामान्य छ भनेर बुझ्नुपर्छ तर योभन्दा कम भएमा श्वास फेर्न कठिन हुने, आत्तिएको जस्तो महसुस हुने हुँदा तत्काल नडराई खुल्ला ठाउँमा बसेर अस्पताल जाने तयारी गर्नुपर्ने डा.पाण्डेले सुझाव दिनुभयो ।
फोक्सो विशेषज्ञ डा.प्रज्वल श्रेष्ठले अक्सिजनको मात्रा ९० प्रतिशतभन्दा कम भएमा कोभिडको बिरामीमा फोक्सोको निमोनिया भइसकेको भनेर बुझ्नुपर्ने र तत्काल अस्पताल जानुपर्ने बताउनुभयो ।
उहाँका अनुसार अक्सिजनको मात्रा ९४ प्रतिशतभन्दा माथि भएमा सङ्क्रमित नआत्तिईकन घरमा नै बस्नुपर्ने र सम्भव भएमा पल्स अक्सिमिटर किनेर बेला बेला जाँच गर्नुपर्छ ।
घरमा बसेका सङ्क्रमितका लागि फोक्सो विशेषज्ञ डा.श्रेष्ठले अक्सिजन बढाउने उपायमा घोप्टो परेर सिरानी राखेर सुतेमा हावाको प्रवाह राम्रो हुने, यसरी सुत्दा नाकबाट लामो लामो श्वास लिने र मुखबाट छोड्ने गर्नुपर्ने बताउनुभयो ।
होम आइसोलेसनमा बसेका सङ्क्रमितहरूले अहिले सामाजिक सञ्जाल प्रयोग गरी कोरोनाबाट निको हुने र अक्सिजनको मात्रा बढाउने उपायहरू खोजिरहेका छन् ।
नेपालको एक मात्र आयुर्वेदिक अस्पताल नरदेवीका निर्देशक डा. प्रदीप केसीले सामाजिक सञ्जालमा आएका सबै कुरा सत्य नभएको जानकारी दिनुभयो ।
नाक बन्द भएमा खुलाउन बाफ लिने, खोकी लागेमा अदुवा, बेसार पानी खाने, नियमित व्यायाम गर्ने, विशेष गरेर प्राणायाम दैनिक गर्नाले फोक्सो चलायमान हुने डा.केसीले जानकारी दिनुभयो ।
डा. केसीले आफ्नो शरीरमा कोरोना भाइरसको अंश मात्रा छिरेको र यसलाई पराजित गर्ने शक्ति पनि आफैभित्र हुने भएकाले दिमागलाई व्यस्त राख्ने, खानपिनमा ध्यान दिनुपर्ने बताउनुभयो ।
कोरोना सङ्क्रमण फैलन नदिन सरकारले जारी गरेका मापदण्ड पालना गर्ने, होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका सङ्क्रमितले आफूलाई व्यस्त राख्ने, नियमित व्यायाम गर्ने, झोलिलो पोसिलो खानेकुरा खाने, तनाव मुक्त हुने, चिकित्सकले दिएका सुझाव पालना गर्नाले कोरोनालाई जित्न सकिने विज्ञहरूको सुझाव छ ।








प्रतिक्रिया राख्नुहोस्