रुपन्देही, बाँके र पाल्पामा १२ सङ्क्रमितको मृत्यु

रुपन्देही। रुपन्देही, बाँके र पाल्पामा गरी पछिल्लो २४ घण्टामा १२ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र सल्यानका गरी छ कोरोना सङ्क्रमितको बुटवलमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार बुटवल उपमहानगरपालिका–४ का ८४ वर्षीय पुरुष, बुटवल–९ का ६१ वर्षीय पुरुष र बुटवल–११ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । यस्तै धातिवाङ अर्घाखाँचीका ७५ वर्षीय पुरुष, शिवराज –७ कपिलवस्तुका ४३ वर्षीय पुरुष र शारदा–११ सल्यानका ४३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
बाँकेमा कोरोना जित्नेको सङ्ख्या बढ्दो
बाँकेमा तीव्र गतिमा देखिएको कोरोना भाइरस सङ्क्रमण जितेर घर फर्किनेको सङ्ख्या बढ्दो क्रममा रहेको छ । पछिल्लो एक हप्तामा मात्रै सङ्क्रमित भई विभिन्न कोभिड आइसोलेसन र होम आइसोलेसनमा स्वास्थ्य लाभ गरेका एक हजार ३३५ जनाले कोरोना जितेर घर फर्किएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो अवधिमा १४ महिने बालकसहित १११ वर्षीय वृद्धले समेत कोरोना जित्न सफल हुनुभएको छ । गत शनिबार १११ वर्षीय वृद्ध र आइतबार १४ महिने बालकले कोरोना जितेर घर फर्किनुभएको हो । कोरोना जित्नेहरू अधिकांश होम आइसोलेसनमा बसेका हुन् ।
बाँकेमा यही वैशाख १९ गते ३०५, १८ गते २५०, १७ गते २०५, १६ गते २४४, १५ गते ८८, १४ गते १०६, १३ गते १२५, १२ गते १२ सङ्क्रमित कोरोना जितेर घर फर्किएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको तथ्याङ्कले देखाएको छ ।
जिल्लामा कोरोना जित्नेको तुलनामा सङ्क्रमण दर बढी देखिन्छ । पछिल्लो हप्तामा एक हजार ३३५ निको हुँदा तीन हजार ५२० सङ्क्रमित थपिएका छन् । वैशाख १९ गते ४६५, १८ गते २५३, १७ गते ६२८, १६ गते ४९६, १५ गते ५५३, १४ गते ५२६, १३ गते २५६ र १२ गते ३४३ जना सङ्क्रमित थप भएका छन् ।
सङ्क्रमित अधिकांश लक्षण नदेखिएका रहेकाले जति ठुलो सङ्ख्यामा सङ्क्रमित भए पनि दश दिनपछि त्यति नै सङ्ख्यामा डिस्चार्ज हुने देखिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका संयोजक रामबहादुर चन्दले बताउनुभयो ।
यसैबिच बाँकेमा अस्पतालमा भर्ना भएका थप पाँच कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुई गरी पाँच जनाको उपचारका क्रममै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो । उहाँका अनुसार भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका–३ निवासी ५१ वर्षीय पुरुषको आज बिहान ३ः३०, नेपालगन्ज–१ निवासी ६६ वर्षीय पुरुषको ४ः०० र बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ४७ वर्षीय पुरुषको आज बिहान ६ः३० बजे मृत्यु भएको हो ।
यसै गरी शिक्षण अस्पताल कोहलपुरमा नेपालगन्ज–५ निवासी ४८ वर्षीय पुरुषको गए राति ९ः३० र बैजनाथ गाउँपालिका–८ निवासी ६० वर्षीया महिलाको आज बिहान १ः२० बजे मृत्यु भएको थियो । योसँगै बाँकेका १३३ र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आएका १२२ जनाको मृत्यु भएको स्रोत व्यक्ति वलीले जानकारी बताउनुभयो ।
होम आइसोलेसनमै कोरोना सङ्क्रमितको निधन
पाल्पामा होम आइसोलेसनमा बसेका एक कोरोना सङ्क्रमितको निधन भएको छ । रामपुर नगरपालिका–१० गेझा बस्ने ७२ वर्षीय एक पुरुषको आज बिहान करिब साढे २ः०० बजे निधन भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
उच्च रक्तचाप रोगले ग्रसित रहेका ती पुरुषलाई यही वैशाख ३ गते उपचारका लागि युनाइटेड मिसन अस्पताल पाल्पा लगिएको थियो । वैशाख ८ गते एन्टिजिन रिपोर्ट पोजेटिभ आएपछि उपचाररत ती पुरुषलाई १३ गते मिसन अस्पतालबाट डिस्चार्ज भई घर फर्केको र होम आइसोलेसनमा निधन भएको रामपुर–१० का वडाध्यक्ष लिलबहादुर गाहाले जानकारी दिनुभयो ।
मृतकको अहिले घर नजिकैको काली गण्डकीको दोभान झम्मखोलास्थित आँधिघाटमा परिवार, आफन्त र स्थानीयवासीको सहयोगमा शव व्यवस्थापन गर्ने तयारी भइरहेको वडाध्यक्ष गाहाले बताउनुभयो । हालसम्म पाल्पामा कोरोना सङ्क्रमणका कारण निधन हुनेको सङ्ख्या ४२ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्