तपाईँ सुन्दै हुनुहुन्छः

निषेधाज्ञाका समयमा छापिएन चालक अनुमतिपत्र

काठमाडौँ ।गत वर्ष बन्दाबन्दीको समयमा तीन सिफ्टमा गरेर ‘स्मार्ट’ चालक अनुमति पत्र छपाइ गरेको यातायात व्यवस्था विभागले अहिले भने निषेधाज्ञाको समयमा अनुमति पत्र छापेको छैन ।

बाँकी रहेका कार्डको सङ्ख्या कम मात्रै रहेको विभागले जनाएको छ । विभागमा बाँकी रहेका कार्डको सङ्ख्या १० देखि १५ हजार मात्रै रहेकाले अनुमति पत्र छाप्न नसकिएको हो । अहिले पनि विभागले झन्डै तीन लाख अनुमति पत्र छाप्न बाँकी रहेको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताउनुभयो । उहाँका अनुसार कार्ड खरिदका लागि प्रक्रिया अघि बढाइएको भए पनि आइपुगेको छैन ।

विभागले केही समय पहिले फ्रान्सको एउटा कम्पनीमार्फत १४ लाख कार्ड खरिद प्रक्रिया अघि बढाएको थियो । निर्धारित समयअनुसार अहिलेसम्म कार्ड आइसक्नुपर्ने प्रवक्ता डा भुसालले बताउनुभयो । भारतीय पद्धतिमा आधारित हुनुपर्नेमा केही प्राविधिक समस्या आएकाले ढिलाइ भएको हो । उहाँले भन्नुभयो, “अबको एक दुई महिनामा आइपुग्ने देखिएको छ ।”

अहिले विभागले छाप्न बाँकी तीन लाखमध्ये झन्डै आधा डेढ लाख नवीकरण गरिएका अनुमति पत्र र बाँकी आधा अहिले अनुमति पत्रको परीक्षा उत्तीर्ण भएका रहेको विभागले जनाएको छ । गत आवमा कोभिड–१९ का कारण यातायात व्यवस्था कार्यालयले नवीकरणलाई निरन्तरता दिए पनि नयाँ अनुमति पत्रका लागि परीक्षा स्थगित गरेका थिए । विभागले गत पुसदेखि अनलाइन माध्यमबाट आवेदन लिइरहेको छ । सोही आवेदनका आधारमा प्रदेशअन्तर्गतका कार्यालयले परीक्षा सञ्चालन गरेको छ ।

पुसदेखि यता अनुमति पत्रको परीक्षा पास गर्नेको सङ्ख्या डेढ लाख पुगेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पुसयता अनुमति पत्रको परीक्षा पास गरेकाहरूको छाप्न बाँकी छ ।” विभागले दुई वर्ष पहिले खरिद गरेको कार्ड सकिँदै जाँदा दुई महिना पहिलेदेखि अत्यावश्यकबाहेक अरू अनुमति पत्र छपाइ नगरेको प्रवक्ता डा भुसालले बताउनुभयो । रोजगारी वा अध्ययनका लागि विदेश जानका लागि मात्रै अनुमति पत्र छपाइ हुँदै आएको छ । उहाँले भन्नुभयो, “प्रक्रियामा रहेका कार्ड आएपछि मात्रै सबै छपाइ गर्न सकिनेछ ।”

सरकारले गत पुसमा अनलाइन फारम सुरु गरेसँगै झन्डै पाँच लाखले आवेदन दिइसकेको विभागले जनाएको छ । अहिलेसम्म डेढ लाखले मात्रै लिखित र प्रयोगात्मक गरी दुवै परीक्षा उत्तीर्ण गरेका छन् । लिखित उत्तीर्ण गरेर प्रयोगात्मक परीक्षा उत्तीर्ण नहुने सेवाग्राहीका लागि विभागले दुई पटकसम्म मौका दिने गरेको छ । फारम भर्ने पाँच लाखमध्ये कतिपय परीक्षामा सामेल हुन बाँकी भएको र कति प्रयोगात्मक परीक्षा उत्तीर्ण नभएको विभागले जनाएको छ ।

बन्दाबन्दीको समयमा अरू कामको चाप कम हुने भएकाले विभागले गत वर्ष तीन सिफ्टमा गरी अनुमति पत्र छापेको थियो । अहिले निषेधाज्ञाको समयमा त्यसको राम्रो सम्भावना भए पनि कार्डको अभावका कारण गर्न नसकिएको हो । संविधानअनुसार चालक अनुमति पत्रको जिम्मेवारी प्रदेश सरकारको हो । पहिले विभागअन्तर्गत रहेका यातायात कार्यालयहरू तीन वर्ष पहिले नै प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो ।

प्रदेश सरकारअन्तर्गतका कार्यालयहरूले परीक्षा सञ्चालन, अनुमति पत्र वितरण र नवीकरण गर्दै आएका छन् । त्यसको सफ्टवेयर र छपाइको काम भने विभागले गर्दै आएको छ । कार्यालय र विभागबिच समन्वय नहुँदा सेवाग्राहीले समस्या भोग्दै आएका छन् । गत आवसम्म विभागले झन्डै आठ लाखभन्दा बढी चालक अनुमति पत्र छपाइ गर्न बाँकी थियो । विभागले देशभरको अनुमति पत्र छपाइ गर्नुपर्ने भए पनि साना क्षमताको उपकरणका कारण छपाइ सुस्त थियो ।

झन्डै डेढ वर्ष पहिले विभागले ठुलो क्षमताको उपकरण (मास प्रिन्टर) र कार्ड खरिद गरेको थियो । अहिले कार्ड समयमा नआएकाले मात्रै सेवाग्राहीले तत्काल अनुमति पत्र नपाएको विभागले बताउँदै आएको छ । कार्ड आएपछि विभागले एकै दिनमा झन्डै १० हजारसम्म अनुमति पत्र छाप्न सक्नेछ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button