तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा वैकल्पिक विधिबाट पठनपाठन 

सल्यान । दोस्रो चरणको भेरियन्ट सहितको कोरोना भाइरस सङ्क्रमणका कारण सल्यानका सबै विद्यालय यति बेला बन्द छन् ।
हजारौँ विद्यार्थी तथा शिक्षक घरमै छन् । तर सल्यानको शारदा नगरपालिका भित्र रहेका विद्यार्थीको भने पढाई रोकिएको छैन ।
विद्यालय बन्द भएको बेला पनि सिकाइलाई निरन्तरता दिनको लागि शारदा नगरपालिकाको शिक्षा शाखाले शिक्षा प्रतिकार्य योजना निर्माण गरी पठनपाठन गराइरहेको छ ।
शिक्षा प्रतिकार्य योजना बनाई सामाजिक दुरी र स्वास्थ्य मापदण्ड पुरा गरी टोल सिकाइमार्फत पठनपाठन भइरहेको शिक्षा शाखा प्रमुख लिला बहादुर बबालले बताउनुभयो । उहाँले भन्नुभयो “नगरपालिका भित्रका ५८ वटा विद्यालयमा सिकाई अभिभावक समूह गठन गरिएको छ भने प्रत्येक विद्यालयमा कलोज युजर ग्रुप निर्माण गरी टोल सिकाइलाई प्राथमिकता दिनुका साथै अभिभावक समूहमार्फत बिद्यार्थीहरुलाई टोलमा जम्मा गरी पढाई हुने गरेको छ ।”
सामाजिक दुरी कायम र स्वास्थ्य मापदण्डको प्रयोग गर्दै टोल टोलमा पढाई भइरहेको शिवजन माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक शिवलाल थापाले बताउनुभयो ।
कोरोनाको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गरी विद्यार्थीको पायक पर्ने स्थानमा जम्मा गरी बढाउने काम भइरहेको उहाँको भनाई छ ।
शैक्षिक सत्र ढिला गरी सुरु भएको र शैक्षिक सत्र नसकिँदै विद्यालय बन्द गर्नु पर्ने बाध्यता भएपछि टोल सिकाइको माध्यमबाट पढाउन थालेको उहाँले बताउनुभयो ।
शारदा नगरपालिका भित्र रहेका ५८ वटा विद्यालयका करिब ११ हजार विद्यार्थी बालबालिका वैकल्पिक माध्यमको प्रयोग गरी अध्ययन गरिरहेका छन् ।
कोरोना भाइरसका कारण विद्यालय बन्द भएको समयमा टोल टोलमा समूह बनाई पढाउँदा निकै प्रभावकारी भएको अभिभावक खुमा डाँगीले बताउनुभयो । यस प्रकारको शिक्षाले साना बालबालिकाहरूमा पढ्ने बानीको विकास गर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button