तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेशले कोरोनाबाट मृत्यु भएका परिवारलाई १ लाख राहत रकम उपलब्ध गराउने

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना सङ्क्रमणबाट मृत्यु भएका परिवारलाई जनही एक लाख राहत रकम उपलब्ध गराउने भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु भएका परिवारलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाएर प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को शुक्रवार बसेको बैठकका निर्णयलाई आज प्रेस विज्ञप्तिमार्फत जानकारी दिँदै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री एवं प्रवक्ता विमला केसीले प्रदेश भित्रका नागरिकको कोरोना सङ्क्रमणबाट मृत्यु भएका परिवारलाई राहत स्वरूप एक लाख रकम प्रदान गर्ने निर्णय गरिएको बताउनुभयो ।
”विषयगत मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध बजेटबाट कोषमा ५० करोड बजेट रकमान्तरण गरिएको छ,’ उहाँले भन्नुभयो, ‘उक्त रकमबाट कोभिड–१९ सँग सम्बन्धित समस्याहरू समाधानका लागि खर्च गरिनेछ ।”
उहाँले अक्सिजन सिलिण्डर र अक्सिजन आपूर्ति गर्न प्रदेशका सबै जिल्लाका अस्पताललाई एक /एक करोड रकम दिने निर्णय समेत मन्त्रिपरिषद्को बैठकबाट गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदेश विपद् व्यवस्थापन कोषबाट प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चौरजहारी अस्पताल रुकुम पश्चिमलाई एक÷एक करोड तथा मेहलकुना अस्पताल र दैलेख अस्पताललाई ५०/५० लाख दिने निर्णय भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button