वीरगंजमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

बीरगंज । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारत थप एक जना कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका आदर्शनगर निवासी ६६ वर्षीय एक व्यवसायीको उपचारको क्रममा आज बिहान मृत्यु भएको नारायणी बयोधा अस्पतालका प्रशासकीय अधिकृत विष्णु पटेलले जानकारी दिनुभयो ।
झण्डै ३ हप्ता अगाडी कोरोना पोजेटिभ भई उपचारार्थ बयोधा अस्पतालमा भर्ना भएका व्यवसायीको ५ दिनअघि कोरोना परीक्षणको रिपोट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएको र पुनः आज बिहान ५ दिनपछि श्वास प्रश्वासमा समस्या आएसँगै अस्पताल भर्ना गरिएको थियो ।
उपचारकै क्रममा ६६ वर्षीय पुरुषको निधन भएको पटेलले बताउनुभयो ।
वैशाख यता बीरगंजमा कोरोना सङ्क्रमणको कारण ३० जनाको ज्यान गएको छ ।
१ सय ४ जनामा कोरोना सङ्क्रमित थपिए
यसैबीच बीरगंजस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा आज बिहान थप १ सय ४ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
१ सय ९२ जनाको पिसीआर परीक्षण गरिएकोमा १ सय ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिनुभयो ।
सङ्क्रमण पुष्टि हुनेमा ६६ जना पुरुष र ३८ जना महिला रहेका छन् ।
सङ्क्रमित मध्ये ८८ जना पर्सा जिल्लाको रहेका छन् भने बाराका ११ जना, रौतहटका ४ र सर्लाहीको १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको डा.दासले बताउनुभयो ।
सङ्क्रमितको उमेर समूह १७ वर्षदेखि ७९ वर्षसम्म रहेको र सङ्क्रमितको सिटी भ्यालु १५ दशमलव ५ देखि ३५ दशमलव ५ सम्म रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा.दासले जानकारी दिनुभयो ।
त्यसै गरी नारायणी अस्पतालको प्रयोगशालामा चैत २७ गतेदेखि यता गरिएको ३ हजार २ सय ४८ जनाको पिसिआर परीक्षणको क्रममा १ हजार ९ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्