तपाईँ सुन्दै हुनुहुन्छः

म्यारोडोनाको निधनको मेडिकल रिपोर्ट सार्वजनिक

काठमाडौँ । अर्जेन्टिनाका महान् फुटबलर डिएगो म्यारोडोनाको निधनको मेडिकल रिपोर्ट सार्वजनिक भएको छ ।
चिकित्सकहरूको एक विशेषज्ञ टोलीले रिपोर्ट सार्वजनिक गर्दै म्यारोडोनाको निधन हेरचाहको कमी र लापरबाही मुख्य कारण भएको जनाएका छन् ।
म्यारोडोनाको गत नोभेम्बरमा ६० वर्षको उमेरमा हृदय घातको कारण निधन भएको थियो । म्यारोडोनाको निधनपछि चिकित्सकको एक टोलीले अनुसन्धान थालेको थियो ।
विशेषज्ञ टोलीले आफ्नै लापरबाहीको कारण म्यारोडोनाले ज्यान गुमाउनु परेको निष्कर्ष निकालेको हो । म्यारोडोना कोकिन र रक्सीको लतमा रहेका थिए । निधन अघि म्यारोडोनाले मस्तिष्कको शल्यक्रिया गरेका थिए । यस्तै उनको मदिरामाथिको निर्भरताको पनि उपचार गरिँदै थियो ।
अर्जेन्टिनाका पूर्व प्रशिक्षक समेत रहेका म्यारोडोना विश्व फुटबलका महान् खेलाडी मानिन्छन् । म्यारोडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए । त्यस समय म्यारोडोना टिमका कप्तान रहेका थिए ।
अर्जेन्टिनाका लागि म्यारोडोनाले १९७७ देखि १९९४ सम्म खेलेका थिए । उनले अर्जेन्टिनाका लागि ९१ खेलमा ३४ गोल गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button