तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जमा तेस्रो आइसोलेसन केन्द्र बनाउँदै उप–महानगरपालिका

     
बाँके । कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि नेपालगञ्ज उप–महानगरपालिकाले तेस्रो आइसोलेसन केन्द्र निर्माण गर्ने भएको छ । हाल ह्वाइट हाउस र रामलीला मैदानस्थित तालिम केन्द्रमा आइसोलेसन सञ्चालन गरिरहेको उपमहानगरपालिकाले तेस्रो आइसोलेसन केन्द्र वाल मन्दिरको सभा हलमा निर्माण गर्ने भएको छ ।
नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरोकारवालासँगको बैठकले बाल मन्दिरमा आइसोलेसन बनाउनका लागि त्यसको मर्मत सम्भार र रंगरोगनका लागि आवश्यक प्राविधिक स्टिमेट तयार गर्ने निर्णय गरेको हो ।
बैठकको निर्णय लगत्तै नगरप्रमुख राणाको नेतृत्वको जनप्रतिनिधि र प्राविधिक सहितको टोलीले मर्मत सम्भार र रंगरोगनको प्रारम्भिक स्टिमेट तयार पारेको छ । नगर प्रमुख राणाले छिटो भन्दा छिटो आइसोलेसन बनाउन निर्माण कार्य तत्कालै सुरु गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।
महामारी नियन्त्रणका लागि थप आइसोलेसन आवश्यक छ, नगर प्रमुख राणाले भन्नुभयो, आजैदेखि निर्माणको कार्य सुरु गर्नेगरि खटिनुहोस् । उप–महानगरपालिकाले भेरी अस्पतालको प्रत्यक्ष निगरानी रहने गरी आइसोलेसन केन्द्र निर्माण गर्न लागेका कारण गुणस्तरीय सेवा सुविधा पाउने उहाँले बताउनुभयो ।
सो अवसरमा  उप–प्रमुख उमा थापा मगर, कोभिड १९ रोकथाम र नियन्त्रणका लागि गठित अनुगमन समितिका सदस्य नगर प्रवक्ता प्रमोद रिजाल, वडा नम्बर १८ का वडा अध्यक्ष दिपक वर्मा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button