यसरी जुट्दै छ भक्तपुर कोभिड–१९ को दोस्रो लहर विरुद्ध

भक्तपुर । कोभिड–१९ को दोस्रो लहरले समुदायमा महामारीको रूप लिन थालेपछि सरकारले एकातिर १५ दिनका लागि लकडाउन गरेको छ भने अर्कातिर भक्तपुर अस्पताल र स्थानीय तहले आइसोलेसन सेन्टरसँगै हाई डिपेन्डेन्सी युनिटर र क्वारेनटाइनको यथेष्ट सञ्चालन र तयारीमा जुटेका छन् ।
भक्तपुर अस्पतालले २५ शय्याको हाई केयर युनिटसहित ६८ शय्याको आइसोलेसन कक्ष सञ्चालन सुरु गरेको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा सुमित्रा गौतमका अनुसार आइसोलेसन कक्षमा ६ शय्याको आइसियु, २५ शय्याको हाई केयर र ३७ शय्याको जनरल युनिट रहेका छन् । हाल अस्पतालको आइसोलेसनमा ३० संक्रमित छन्, जसमध्ये ४ जना आइसियु उपचाररत छन् । आवश्यकता अनुसार अस्थायी संरचना निर्माण गरेर आइसोलेसन कक्षको सङ्ख्या बढाउने उहाँले बताउनुभयो ।
भक्तपुरका ४ वटै स्थानीय तहहरूले आइसोलेसन सेन्टर पुन: सञ्चालनमा ल्याएका छन् । भक्तपुर, मध्यपुरथिमि र चाँगुनारायणले आइसोलेसन सेन्टर पुनः सञ्चालनमा ल्याइसकेका छन् भने सूर्यविनायक नगरपालिकाले यसको काम अन्तिम चरणमा पुगेको बताएको छ ।
आइसोलेसन सेन्टरसँगै नगरपालिकाहरुले हाई डिपेन्डेन्सी युनिट समेत सञ्चालनमा ल्याएका छन् ।

मध्यपुर नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठका अनुसार नगरपालिकाले बोडेस्थित कृषि विकास बैङ्कको तालिम केन्द्रमा ७० शय्याको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको बताउनुभयो ।
यसबाहेक १४ शय्याको एचडीयू, ९ वटा आइसियु र ७ वटा भेन्टिलेटरको समेत व्यवस्था गरिएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । यसमध्ये आइसियु र भेन्टिलेटर नेपाल कोरिया मैत्री अस्पतालमा निर्माण गरिएको छ । नगरपालिका अक्सिजन प्लान्ट निर्माणतर्फ समेत अघि बढेको भन्दै एक दुई दिनभित्र नगरपालिकाद्वारा नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउने तैयारी गरिरहेको प्रमुख श्रेष्ठले बताउनुभयो ।
गत बर्ष कोरियन अस्पतालले रोबर्ट नर्सबाट समेत उपचारको व्यवस्था गरेको थियो । यसअघि कोरोनाको पहिलो लहरको महामारीमा नगरपालिकाले सोही केन्द्रमा ५० शय्याको आइसोलेसन सञ्चालन गरेको थियो । कोरोनाको नयाँ भेरियन्ट पहिलेको तुलनामा कडा र बढी सङ्क्रामक भएका र जटिल तथा गम्भीर प्रकृतिका बिरामीको सङ्ख्या बढेकाले एचडीयूसहितको आइसोलेसन शय्या बढाएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो ।
त्यस्तै भक्तपुर नगरपालिकाले ब्रह्मायणीमा ५० शय्याको आइसोलेसन र २५ शय्याको एचडीयू सञ्चालनमा ल्याएको छ । नगर प्रमुख सुनिल प्रजापतिका अनुसार गम्भीर प्रकृतिका बिरामीलाई अस्पताल पठाउने र अक्सिजन सपोर्ट मात्र चाहिने बिरामीलाई आइसोलेसन केन्द्रमै उपचार गर्ने नीति नगरपालिकाले लिएको छ ।
त्यसै गरी चाँगुनारायण नगरपालिकाले नेपाल इन्जिनियरिङ कलेजमा एक सय शय्याको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । संक्रमित सङ्ख्या बढ्दै गएमा यसको क्षमता बढाउँदै लैजाने नीति नगरपालिकाले लिएको छ । नगरपालिकाले अहिले पनि बिरामीलाई तत्काल अक्सिजन सपोर्ट दिन सक्ने गरी व्यवस्था गरेको नगरप्रमुख सोम मिश्रले जानकारी दिनुभयो ।
नगरपालिकाले बिहीबारदेखि चाँगुनारायण अस्पताललाई ‘कोभिड अस्पताल’ का रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । हाल १७ शय्याको चाँगुनारायण अस्पताललाई ३० शय्यासम्म वृद्धि गर्ने र नगरपालिकाले कोभिड विशेष शव वाहन, एम्बुलेन्स सञ्चालनलाई निरन्तरता दिएको जनाएको छ । होम आइसोलेसनमा बस्न सक्ने वातावरण नभएका कोरोना सङ्क्रमितका लागि आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको नगर प्रमुख मिश्रले बताउनुभयो ।नगरपालिकाले आइसोलेसनमा रहेका सबैका लागि डा सहितको माइक्रोसफ्ट टिमबाट चिकित्सकीय सेवा समेत सुरु गरेको छ ।
सूर्यविनायक नगरपालिकाले जगातीमा नगर अस्पताल निर्माणलाई अन्तिम रूप दिन लाग्दैछ । निर्माणाधीन नगर अस्पतालमा ५० शय्या रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले बताउनुभयो ।उहाँले नगर अस्पताल १५ दिनभित्र तयार गरिसक्ने लक्ष्य लिइएको र नगर अस्पतालमा आइसियु, एचडीयू सहित भेन्टिलेटरको सुविधा रहने बताउनुभयो ।त्यसो त यस अघि नै इमर्जेन्सी सेवा सहितको नगर अस्पताल सञ्चालनमा ल्याइसकेको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख प्रमुख कृष्ण मिजारका अनुसार भक्तपुरमा सङ्क्रमणको कारण मर्नेको सङ्ख्या जिल्लामा एक सय २९ पुगि सकेको छ । जसअनुसार ८४ पुरुष र ४५ जना महिला रहेका छन् । कार्यालयको तथ्याङ्क अनुसार भक्तपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७ सय ७५ जना पुगेका छन् भने सङ्क्रमितको सङ्ख्या १० हजार ८ सय नाघिसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्