तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जमा कोरोनाबाट हालसम्म ४३ जनाको मृत्यु, करिब ६ हजार जना सङ्क्रमित

बाँके  । नेपालगञ्ज उप–महानगरपालिकाभित्र हालसम्म करिब ६ हजार जनामा कोभिड सङ्क्रमण देखिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दका अनुसार दुई हजार ५ सय ६९ महिला र तीन हजार ३ सय ८२ जना गरी ५ हजार ९ सय ६१ जनामा कोभिड संक्रमण देखिएको छ ।

कोरोना सङ्क्रमण भएका मध्ये एक हजार ४ सय ९१ महिला र दुई हजार १ सय ३० जना पुरुष गरी तीन हजार ६ सय २१ जना डिस्चार्ज भएका छन् ।

उपमहानगरपालिकामा कोभिडबाट हालसम्म १९ महिला र २४ पुरुष गरी ४३ जनाको निधन भएको छ ।

आइतबारसम्म एक हजार १ सय ७२ जना महिला र एक हजार ३ सय ३७ जना पुरुष गरी दुई हजार ५सय ९ जना सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय सङ्क्रमितहरू सबै वैशाख ९ गतेपछि सङ्क्रमण देखिएका हुनुहुन्छ । कोरोना रोकथाम र नियन्त्रणका लागि नगरभित्र प्रभावकारी स्वास्थ्य उपचारको व्यवस्था मिलाइएको नगरप्रमुख डा. धवलशम्शेर राणाले बताउनुभयो ।

उपमहानगरपालिकाले राज्यका विभिन्न निकाय र गैरसरकारी सङ्घ संस्थासँग मिलेर रोकथाम र नियन्त्रणको अभियान चलाइरहेको छ । ह्वाइट हाउसमा सामान्य आइसोलेसन र रामलिला मैदानस्थित तालिम केन्द्रमा अक्सिजन सहितको आइसोलेसन केन्द्र सञ्चालन गरेको छ ।

आइसोलेसनमा चिकित्सक सहितको दक्ष जनशक्तिको व्यवस्थापन गरिएको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो ।

शङ्कास्पद व्यक्तिहरूको पिसिआर परीक्षणको व्यवस्था उप–महानगरपालिकाले गरेको छ । जमुनाहमा होल्डिङ सेन्टरका लागि समन्वय गरिएको छ । जमुनाहमै हेल्थ डेस्क सञ्चालन गरिएको हो । होम आइसोलेसनमा बस्नेहरूका लागि प्रत्येक वडामा स्वास्थ्यकर्मी खटाइएको छ । भेरी अस्पतालमा बिरामी कुरुवाहरूको सहजताका लागि खानाको व्यवस्थापन गरिरहेको अञ्जन माता रसोईलाई मासिक ५० हजार रुपियाँ सहयोग गरिरहेको छ ।

कोभिडका बिरामी ल्याउन लैजान निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको भन्दै उपप्रमुख मगरले कोभिड रोकथाम र नियन्त्रणका लागि सबै पक्षको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

कोरोना सङ्क्रमणका कारण आज  थप दुई जनाको मृत्यु
कोरोना सङ्क्रमण भएर उपचार गराइरहेका थप दुई जना सङ्क्रमितको आज बाँकेमा मृत्यु भएको छ ।

आज दुई जना कोरोना सङ्क्रमितको २५ मिनेटको फरकमा मृत्यु भएको हो ।

कोरोना भाइरस सङ्क्रमणबाट आज बाँकेको २३ वर्षीया युवतीको मृत्यु भएको छ । जानकी गाउँपालिका–४ बाँकेकी ती युवतीको उपचारका क्रममा भेरी अस्पतालमा आज मृत्यु भएको हो ।

उनको १७ गते पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि उनी १८ गते अस्पताल भर्ना भएकी थिइन् ।

उनको उपचारका क्रममा आज बिहान ११ः ३० मा मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ सय २६ पुगेको छ भने जिल्ला बाहिरका १ सय २० जनाको मृत्यु भएको छ ।

यस्तै भेरीमा उपचाररत सल्यानका ५२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । बागचौर नगरपालिका–११ सल्यानका ती पुरुष गएको १४ गते अस्पताल भर्ना भएका थिए ।

उनको १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उपचारका क्रममा उनको आज बिहान ११ः५५ बजे मृत्यु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button