तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा निजी अस्पतालमा कोरोना सङ्क्रमितको उपचार

धनगढी । कैलालीमा निजी अस्पतालहरूले कोरोना भाइरस सङ्क्रमितहरूको उपचार सेवा शुरु गरेका छन् । सामाजिक विकास मन्त्रालयसँगको सहकार्यमा निजी अस्पतालहरूले कोरोना सङ्क्रमितहरूको उपचार थालेका हुन् । कोरोना सङ्क्रमितको उपचारका लागी पद्मा अस्पतालले १० बेड, कैलाली अस्पतालले ५ बेड र नवजीवन अस्पतालले १० बेड सञ्चालनमा ल्याएका छन् ।
मन्त्रालयसँगको सम्झौता अनुरूप कोरोना सङ्क्रमितको उपचार शुरु गरिएको पद्मा अस्पतालका डाक्टर नरबहादुर मौनीले जानकारी दिनुभयो । निजी अस्पताललाई एक जना कोरोना सङ्क्रमितको उपचार खर्च अधिकतम (स्वास्थ्य अवस्था हेरेर) १५ हजार सम्म उपलब्ध गराइने सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कैलालीमा कोरोना संक्रमित दर उच्च रहेको छ । हाल कैलालीमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार पार गरेको र सङ्क्रमणबाट १८ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित बढ्दै गएपछि निर्माणाधीन गेटा मेडिकल कलेजको भवनलाई आइसोलेसन सेन्टर बनाउने गरी तयारी थालिएको धनगढी उपमहानगरपालिका प्रमुख नृप वडले बताउनुभयो ।
यसैबिच कैलालीमा जारी निषेधाज्ञालाई वैशाख ३० गते सम्म निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button