तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँका स्थानीय तहद्वारा विद्यालय परीक्षा स्थगित, व्यास नगरपालिकामा ट्युसन समेत पूर्णरुपमा बन्द गर्न निर्देशन

तनहुँ । दोस्रो लहरको कोरोना सङ्क्रमणको जोखिम बढेसँगै जिल्लाका स्थानीय तहले विद्यालयहरूमा हुने परीक्षा स्थगित गरेको छ ।
विद्यालयमा पठनपाठन बन्द गरेर परीक्षा लिने तयारीमा जुटेका जिल्लाका पालिकाले कोरोना सङ्क्रमणको जोखिम बढेपछि अन्तिम समयमा आएर परीक्षा स्थगित गर्ने निर्णय गरेका हुन् ।
जिल्लाका व्यास नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दिपुर गाउँपालिका, देवघाट गाउँपालिका, म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका लगायतले वार्षिक परीक्षा स्थगित गर्ने निर्णय गरेका हुन् ।
आइतबार बसेको व्यास नगरपालिकाको बैठकले सम्पुर्ण विद्यालयका नियमित पठन पाठन, ट्युसन कक्षाहरू समेत पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । २०७८ वैशाख मसान्त सम्म पूर्व निर्धारित सम्पुर्ण परीक्षाहरू स्थगित गर्ने र  विद्यालय प्रशासन, निर्माण कार्य, आन्तरिक अन्य कार्यका लागि बढीमा १० जना सम्मको शिक्षक कर्मचारीबाट आलोपालो उपस्थिति गराउने व्यवस्था मिलाउन विद्यालय प्र.अ लाई निर्देशन दिने निर्णय भएको व्यास नगरपालिकाद्वारा जारी विज्ञप्तिमा छ ।
कोभिड–१९ को दोस्रो चरणले छिमेकी देश भारतमा असामान्य परिस्थिति सृजना भएको र नेपालको परिस्थिति समेत असामान्य हुँदै गएको हुँदा पछिल्लो  अवस्थालाई मध्यनजर गर्दै व्यास नगरपालिकाको गत वैशाख १४ गते नगरपालिका भित्रका क्याम्पस, सामुदायिक एवं संस्थागत विद्यालयहरूमा पठन पाठन बन्द गरेको थियो ।
वैशाख २१ गते देखि परीक्षा सञ्चालनलाई यथावत् राखिएकोमा शिक्षा मन्त्रालय जिल्ला प्रकोप व्यवस्थापन समिति समेतको अनुरोध र छिमेकी पालिकाहरूको निर्णय समेतलाई अध्ययन गरी विद्यालयका प्रधानाध्यापक, सामुदायिक एवं निजी विद्यालयका शिक्षक सङ्घ सङ्गठन महासङ्घ प्रतिनिधि समेतको उपस्थितिमा व्यास नगर शिक्षा समितिको बैठकबाट सो निर्णय गरिएको व्यास नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्र रेग्मीले बताउनुभयो ।
नगर प्रमुख एवं समितिका अध्यक्ष वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले परीक्षा कुन मोडलमा सञ्चालन गर्ने भन्ने विषयमा जेठको पहिलो साता निर्णय लिने पनि निर्णय गरेको छ ।
त्यस्तै देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दिपुर गाउँपालिकाले नयाँ भेरियन्ट सहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको सन्दर्भमा सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सञ्चालन हुन लागेको परीक्षा स्थगित गरेको हो ।
अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको गाउँपालिकाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । विद्यालयमा भौतिक उपस्थितिमा सञ्चालन हुने कक्षा बन्द गरी भर्चुअल र अन्य माध्यमबाट पठनपाठन गर्न तथा यस अवधिमा शिक्षकहरू विद्यालयमा नियमित उपस्थित भई प्रशासनिक कार्यहरू सुचारु गर्न, शैक्षिक सामग्री निर्माण, सूचना प्रविधिको अभ्यासको कार्यमा सहभागी हुन गाउँपालिकाले आग्रह गरेको छ ।
वैशाख १६ गते बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरिसकेको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले  जानकारी दिनुभयो । अर्को सूचना नभएसम्मका लागि सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गाउँपालिकाले गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button