तपाईँ सुन्दै हुनुहुन्छः

वेदकोट नगरपालिकाद्वारा महाकाली अस्पताललाई १० लाख रकम सहयोग

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकाले महाकाली अस्पताललाई रु १० लाख रकम सहयोग गरेको छ । महाकाली अस्पतालमा कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण र उपचार तथा अक्सिजन ग्यास  खरिद, आइसियु तथा भेन्टिलेटर सञ्चालन  र व्यवस्थापन गर्नका लागि वेदकोट नगरपालिकाले अस्पताललाई १० लाखको चेक हस्तान्तरण गरेको वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले बताउनु भयो । उहाँले आइतबार महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. हरि कुमार श्रेष्ठ र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर)लाई संयुक्त रूपमा चेक हस्तान्तरण गर्नुभएको हो ।
चेक ग्रहण गर्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर) ले यसरी नै अन्य स्थानीय तह, प्रदेश तथा सङ्घीय सरकार, सरकारी तथा गैरसरकारी विभिन्न सङ्घसंस्थाहरू र अन्य व्यवसायी दाताहरूबाट भौतिक, आर्थिक एवं नैतिक सहयोगको अपेक्षा गर्नुभएको छ ।
महाकाली अस्पतालमा कोभिड–१९ को थप संक्रमण रोकथामका लागि अत्यावश्यक अक्सिजन लगायतका स्वास्थ्य उपकरण अभावको समस्या भइरहेको बेला प्राप्त सहयोगले केही राहत पुग्ने अध्यक्ष जोशीको भनाइ छ । यसैबिच, भीमदत्त नगरपालिकाले समेत महाकाली अस्पताललाई रु. २० लाख रकम सहयोग गर्ने भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button