तपाईँ सुन्दै हुनुहुन्छः

‘नागरिक एप्स’ले सार्वजनिक प्रशासन सुधारमा युगान्तकारी परिवर्तन ल्याउने : प्रधानमन्त्री 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एप्स ले सार्वजनिक प्रशासन सुधारमा युगान्तकारी परिवर्तन ल्याउने बताउनुभएको छ ।

चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०७८ को अवसरका आज आयोजित कार्यक्रमको भर्चुअल सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सार्वजनिक सेवालाई कागजरहित बनाई सरकारी सेवा एउटै माध्यमबाट उपलब्ध गराउन नागरिक एप्स महत्त्वपूर्ण हुने बताउनुभयो ।

उहाँले नागरिक एप्स ले फाइल बोकेर सरकारी कार्यालय धाउनु पर्ने बाध्यताको अन्त्य गर्दै भ्रष्टाचारमुक्त र चुस्त प्रशासन कायम गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सूचना र प्रविधिले विश्वलाई एउटा गाउँको रुपमा विकास गरिरहेको उल्लेख गर्नुहुँदै सूचना महामार्गको विस्तार गरेर स्थानीय तहसम्म इन्टरनेट सेवाको पहुँच स्थापित गर्न लागिरहेको बताउनुभयो ।

उहाँले साइबर सुरक्षा लगायत इन्टरनेटमार्फत हुने गैर कानुनी क्रियाकलाप नियन्त्रणमा सहयोगी भूमिका खेलेको समेत उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले कोभिड महामारीको समयमा वैकल्पिक माध्यमबाट पठनपाठन गराउन प्रविधिको प्रयोग प्रभावकारी बनेको बताउनुहुँदै आज शुभारम्भ गरिएका कार्यक्रमहरूको दिगो र गुणस्तरीय रुपमा सञ्चालन गर्न निर्देशन दिनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले समृद्ध नेपालको आधार निर्माण गर्न भौतिक पूर्वाधारको विकाससँगै सूचना प्रविधिको विकास जरुरी रहेको बताउनुभयो ।

उहाँले सूचना प्रविधिको विकास विना समृद्ध नेपालको परिकल्पना पूरा हुन नसक्ने भएकाले डिजिटल नेपाल फ्रेमवर्कलाई रूपान्तरणकारी परियोजनाका रुपमा अघि बढाइएको बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सूचना र सञ्चार क्षेत्रमा आएको विकासले प्रशासकीय प्रबन्ध र सेवा प्रवाहमा गुणस्तरीयता अभिवृद्धि गरी चुस्त प्रशासन कायम गर्न मद्दत पुगेको बताउनुभयो ।

उहाँले प्रविधिको उच्चतम प्रयोग गर्दै सरकारी सेवालाई विद्युतीय माध्यममार्फत नागरिकको पहुँचमा पुर्‍याइएको जानकारी समेत गराउनुभयो ।

‘समृद्ध नेपालको आधार, सूचना प्रविधिको विस्तार’ भन्ने नाराका साथ मनाइएको चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आजै नागरिक एप्स,  अनलाइन बैङ्क खाता, फाइभ जी परीक्षण, अनलाइनमार्फत प्रेस कार्ड नवीकरण लगायतका सेवाको शुभारम्भ गरिएको छ ।

यस्तै दिवसका अवसरमा सूचना र प्रविधिको क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको छ ।

यस वर्षको आइसिटी अवार्ड नयाँ बानेश्वर–१ काठमाडौँका सुधीर पराजुली र गुर्जुधारा–२  काठमाडौँका कुसुम लामालाई १/१ लाख नगद र प्रमाण पत्रद्वारा नेसनल एक्सीलेन्स आइसिटी अवार्डले सम्मान गरिएको छ ।

यस्तै संस्थागततर्फ निजी क्षेत्रमा क्रियाशील हुवावे टेक्नोलोजी नेपाल कम्पनी प्रा.ली र सार्वजनिक सेवातर्फ महालेखा नियन्त्रकको कार्यालयलाई नेसनल आइसिटी अवार्डले सम्मान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button