तपाईँ सुन्दै हुनुहुन्छः

शंकर पोखरेलको नेतृत्वमा बहुमतको सरकार बनाउने लुम्बिनी एमाले संसदीय दलको निर्णय

रुपन्देही । नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठक सकिएको छ ।

बैठकले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत भएपछि संविधानको धारा १६८ को उपधारा १ बमोजिम संसद्मा सबैभन्दा ठुलो दलको हैसियतले सरकार गठनका लागि आज नै प्रदेश प्रमुखलाई भेटेर सरकार गठनका लागि जाने निर्णय गरेको छ ।

बैठकमा एमाले ४१ सांसद मध्ये ४० जना सहभागी भएको प्रमुख सचेतक भुमिश्वर ढकालले बताउनुभयो । सांसद भोजप्रसाद श्रेष्ठ भने कोरोना पोजेटिभ भएर उपस्थित हुन नसक्नुभएको उहाँले बताउनुभयो ।

बैठकले संसदीय दलको विधान पनि संशोधन गरेको छ । ‘विधानमा नेकपा रहेकाले त्यसलाई हटाइएको छ’, उहाँले भन्नुभयो । त्यसैगरी कोभिडविरुद्धको सचेतनाका लागि सबै माननीयहरू आ–आफ्नो क्षेत्रमा खट्ने र सरकारका योजना अनुसार नागरिकलाई सेवा दिन जुट्ने निर्णय भएको ढकालले बताउनुभयो ।

आजै प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा एकल बहुमतको सरकार निर्माणका लागि दाबी पेस गरिने उहाँले जानकारी दिनुभयो । पोखरेललाई पुनः प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्ति गरेपछि एक महिनाभित्र पोखरेलले विश्वासको मत हासिल गर्नु पर्नेछ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button