भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा विद्युत आयात सुरु

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा सोझै विद्युत खरिद गर्न सुरु गरेको छ ।
प्राधिकरणले शनिबार राति १२ बजेबाट २०० देखि २५० मेगावाटसम्म विद्युत भारतीय ऊर्जा एक्सचेन्ज बजारमा खरिद गरी ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात गर्ने भएको छ ।
योसँगै भारतीय ऊर्जा एक्सचेन्ज बजारमा विद्युत व्यापारका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र बनेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले जानकारी बताउनुभयो ।
शाक्यले सबै शुल्कसहित विद्युतको प्रतियुनिट मूल्य ३.८१ भारतीय रुपैयाँ रहेको उल्लेख गर्दै भारतीय बजारले निर्धारण गरेको दरमा शनिबारका लागि खरिद गर्दा अहिले आयात गरिरहेको मूल्यभन्दा भारु ३७ पैसा सस्तोमा विद्युत पाएको र करिब ३० लाख ४८ हजार रुपैयाँ बचत भएको जानकारी दिनुभयो ।
एक्सचेन्ज बजारमा कारोबार भएको विद्युतको दैनिक बिल एनभीभीएनले पेश गरेपछि ५ दिनभित्रमा प्राधिकरणले भुक्तानी पठाउनु पर्ने व्यवस्था रहेको छ ।
प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण सम्पन्न भई विद्युत उत्पादन सुरु भएपछि आन्तरिक रुपमा खपत गरेर जगेडा भएको विद्युत भारतीय बजारमा बिक्री गर्ने योजना बनाएको पनि कार्यकारी निर्देशक शाक्यले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्