वीरगंजमा थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु
बीरगंज । बीरगंजमा कोरोना सङ्क्रमणको कारण २४ घण्टाभित्र थप ४ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दुई महिला र दुई पुरुष रहेका छन् । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ निवासी ७० वर्षीय महिलाको उपचारको क्रममा आज दिउँसो मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिनुभयो ।
दुई दिनअघि पिसिआर रिपोट पोजेटिभ आएकी वृद्ध महिलालाई सोही दिन नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।
श्वास प्रश्वासमा समस्या र कडा खालको निमोनियाको कारण उपचारकै क्रममा आज दिउँसो निधन भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.दासले बताउनुभयो ।
त्यसै गरी नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको होटल बाबा इन्टरनेशनलमा रहेको अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा आज बिहान वीरगंजको छपकैया निवासी ६७ वर्षीय पुरुषको मृत्यु भएको उपचारमा संलग्न डा. ओमप्रकाश कुशवाहले जानकारी दिनुभयो ।
तीन दिनअघि कोरोना सङ्क्रमण पुष्टि भएपछि भर्ना भएका पुरुषलाई २४ घण्टादेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको र हाइफ्लोमा अक्सिजन दिँदा पनि बचाउन नसकिएको डा. कुशवाहले बताउनुभयो ।
यसअघि शुक्रवार साँझ पनि सोही अस्पतालमा उपचाररत एक ७४ वर्षीय महिलाको मृत्यु भएको थियो ।
वैशाख १४ गते कोरोना पुष्टि भएपछि १५ गते नेशनल मेडिकल कलेजको कोरोना अस्पतालमा भर्ना भएका वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ निवासी महिलाको उपचारको क्रममा शुक्रवार साँझ मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत बिनय श्रीवास्तवले जानकारी दिनुभयो ।
यसै गरी उपचारको क्रममा कोरोना सङ्क्रमित एक जना पुरुषको नारायणी बयोधा अस्पतालमा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्