अछामका स्थानीय तह आइसोलेसन बेड निर्माण गर्दै
अछाम । अछाममा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गइरहेको अवस्थामा स्थानीय तहले आइसोलेसन निर्माणको कार्यलाई अघि बढाइरहेका छन् ।
स्थानीय तहहरूले छिमेकी देश भारत तथा शहर बजारबाट समेत आउने मान्छे बढिरहेको अवस्थामा आइसोलेसन निर्माण गर्न थालेका हुन् ।
कोरोना भाइरसको सङ्क्रमण तथा जोखिम बढ्दै गएपछि सबै स्थानीय तहले आइसोलेसन बेड सहितको वार्ड सुचारु गर्न थालेका छन् ।
जिल्लामा दैनिक जसो सङ्क्रमितको सङ्ख्या थपिँदै जान थालेपछि गम्भीर बिरामीलाई व्यवस्थापन गरेर उपचार सुचारु गर्नका लागि १० वटै स्थानीय तहले कम्तीमा १० बेडको आइसोलेसन वार्ड बनाउन जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले निर्देशन दिएपछि बनाउन थालेका हुन ।
सदरमुकाममा रहेको मङ्गलसेन नगरपालिकाले २५ बेडको आइसोलेसन वार्ड स्थापना गरेको छ ।
गत बर्ष क्वारेनटाइन बनाइएको कृषि ज्ञान केन्द्रको भवनमा २५ बेडको आइसोलेसन निर्माण गरिएको नगरप्रमुख पदम बहादुर बोहराले बताउनुभयो ।
भारतबाट लक्षणसहित आएका नागरिक तथा नगरका कोरोना बिरामीलाई राख्नका लागि आइसोलेसन स्थापना गरिएको बोहराले बताउनुभयो ।
जिल्लाको साँफेबगर नगरपालिकाले पनि बयलपाटा अस्पतालमा आइसोलेसन र अक्सिजन व्यवस्थापनसहित सेवा सुचारुका लागि सहयोग गर्ने साँफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुवरले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्