तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंज थप एक सङ्क्रमित महिलाको मृत्यु

बीरगंज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत १ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ निवासी ७० वर्षीय महिलाको उपचारको क्रममा आज मध्यान्ह १२ः०० बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिनुभयो ।
दुई दिनअघि पिसिआर रिपोर्ट पोजेटिभ आएकी वृद्ध महिलालाई सोही दिन नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।
श्वासप्रश्वासमा समस्या र कडा खालको निमोनियाको कारण उपचारकै क्रममा निधन भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.दासले बताउनुभयो ।
यसैबीच बीरगंजस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा आज बिहान थप १ सय ९३ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२ सय ८० जनाको पिसीआर परीक्षण गरिएकोमा १ सय ९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिनुभयो ।
सङ्क्रमण पुष्टि हुनेमा १ सय ३६ जना पुरुष र ५७ जना महिला रहेका छन् ।
सङ्क्रमित मध्ये १ सय ५१ जना पर्सा जिल्लाको रहेका छन् भने बाराका ३० जना, रौतहटका ४ जना, सर्लाहीका ३ जना चितवनका २ जना, नवलपरासी बर्दिया र धनुषका १÷१ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको डा.दासले बताउनुभयो ।
सङ्क्रमितको उमेर समूह अढाई वर्षको नाबालकदेखि ७७ वर्षसम्म रहेको र सङ्क्रमितको सिटी भ्यालु १३ दशमलव १ देखि ३५ दशमलव १ सम्म रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा.दासले जानकारी दिनुभयो ।
वैशाख यता बीरगंजमा कोरोना सङ्क्रमणको कारण २७ जनाको ज्यान गएको छ ।
त्यसै गरी नारायणी अस्पतालको प्रयोगशालामा चैत २७ गतेदेखि यता गरिएको २ हजार  ८ सय ६४ जनाको पिसिआर परीक्षणको क्रममा १ हजार ६ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button