तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना कहर : अलैँची निर्यातमा असर

भद्रपुर, झापा । छिमेकी देश भारतमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिएसँगै  यसको असर नेपालबाट हुने कृषिजन्य वस्तु अलैँची निर्यातमा देखिएको छ ।
नेपाली अलैँचीको ठुलो हिस्सा ओगटेको भारतमा पछिल्लो समय कोरोनाले महामारीको रूप लिन थालेसँगै त्यसको प्रभाव नेपाली अलैँची निर्यातमा देखिएको हो ।
केही सातायता पूर्वी नाका काँकडभिट्टाबाट भारत निर्यात हुने अलैँचीको परिमाण ह्वात्तै घटेको नेपाल अलैँची व्यवसायी महासङ्घका पूर्व अध्यक्ष एवम् निर्यातकर्ता निर्मल भट्टराईले बताउनुभयो ।
नेपाल र भारतमा कोरोनाको सङ्क्रमण दर न्यून हुँदै जाँदा पछिल्लो समयमा नेपाली अलैँचीको निर्यात पनि बढ्दै गएको थियो । लकडाउनका कारण रोकिएको गत वर्षको स्टक अलैँची चालु आर्थिक वर्षमा सन्तोषजनक रुपमा निर्यात भइरहेकोमा भारतमा कोरोना सङ्क्रमण ह्वात्तै बढेपछि नेपाली अलैँची निर्यात पनि ह्वात्तै घटेको महासङ्घले जनाएको छ ।
भारत नेपाली अलैँची निर्यातको सबैभन्दा ठुलो बजार हो । नेपालको करिब ९८ प्रतिशत तयारी अलैँची भारत निर्यात हुने गरेको छ ।
कोरोना फैलिएसँगै अलैँचीको माग घटेको भारतीय अलैँची व्यवसायीले बताउने गरेको महासङ्घका महासचिव सुवास भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button