कोरोनाका कारण सिन्धुपाल्चोकमा एक जनाको मृत्यु, थप २६ मा कोरोना सङ्क्रमण पुष्टि

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका कुभिन्डेका ३७ वर्षीय राजन गिरीको मृत्यु भएको धुलिखेल अस्पतालले जनाएको छ ।
उहाँलाई शुक्रवार जिल्ला अस्पतालबाट धुलिखेल रिफर गरिएको थियो । शुक्रवार बेलुका कोभिड पोजेटिभ देखिएको उहाँको आज बिहान मृत्यु भएको हो । उहाँको आज बिहान पौने ८ बजे मृत्यु भएको हो । आइसियु बेड नभएपछि उहाँको इमर्जेन्सी कक्षमा राखेर उपचार गरिएको थियो ।
दोस्रो लहरमा यसअघि सिन्धु विकास बैङ्कमा काम गर्ने एक कर्मचारीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो ।
थप २६ मा कोरोना पुष्टि
त्यस्तै सिन्धुपाल्चोकमा प्रहरी प्रमुख राजन अधिकारीसहित थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पीसीआर परीक्षणका लागि पठाइएको ६० नमुनामा २६ जनाको कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
कोरोना सङ्क्रमण पुष्टि हुनेहरूमा १६ महिला र १० पुरुषमा रहेका छन् । सङ्क्रमित सबै चौतारा नगरपालिकाका छन् । योसँगै सिन्धुपाल्चोकमा कोरोना सङ्क्रमितको सङ्ख्या ८३ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्