तपाईँ सुन्दै हुनुहुन्छः

बाढीले बगायो माछा :  १२ लाख बढीको क्षति 

सल्यान । बाढीले सल्यानमा १२ लाख बढीको माछा बगाएको छ । बिहीबार साँझ आएको गरालेखोलाको बाढीले ६ लाख माछाका भुरा बगाएको हो ।
बिक्री गर्न तयार भएका ६ लाख माछाका भुरा बगाउँदा झन्डै १२ लाखको क्षति भएको नमुना एकीकृत कृषि फर्म छत्रेश्वरी गाउँपालिका ६ का सञ्चालक लोकराज भण्डारीले बताउनुभयो  । ‘६ वटा पोखरी मध्ये ३ वटा पोखरीका माछा बाढीले एउटा पनि नराखी बगाइदियो’ भण्डारीले भन्नुभयो ।
व्यवसाय सुरु गरी प्रतिफल लिने समयमा बाढीले माछा बगाउँदा व्यवसायलाई निरन्तरता दिन समस्या भएको उहाँको भनाई छ ।  ‘तीन वटा पोखरीमा बजारमा बिक्री गर्न तयार भएका भुरा थिए । बिक्री गर्ने समय पुगेकै बेला बाढीले सबै माछा बगायो’ । उहाँले भन्नुभयो ‘एउटा भुरालाई दुई रुपैयाँमा मात्र बिक्री गरेको भए पनि १२ लाख आम्दानी हुन्थ्यो १२ लाख घाटा भयो ।’
सल्यानमा अहिले ९८ रोपनी क्षेत्रफलमा व्यावसायिक माछा पालन हुँदै आएको छ । आम्दानी राम्रो भएकाले खेतीयोग्य जमिनमा माछा पाल्नेहरू बढिरहेका छन् । जिल्लामा उत्पादन हुने वार्षिक १२ मेट्रिकटन माछामध्ये धेरैजसो दाङ र सुर्खेत जानेको गरेको छ भने  बाँकी अधिकांश जिल्लामै खपत हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button