तपाईँ सुन्दै हुनुहुन्छः

सिद्धिचरण लोकमार्ग स्तरोन्नति तयारी

ओखलढुङ्गा। सरकारले हिमाल, पहाड र तराई जोड्ने सिद्धिचरण लोकमार्ग स्तरोन्नति गर्ने भएको छ । यसका लागि रु १ अर्ब ५० करोड बजेट विनियोजन समेत गरिइएको छ । जीर्ण अवस्थामा रहेको सिराहाको मिर्चैयादेखि सोलुखुम्बुसम्मको सडक यसैवर्ष स्तरोन्नति हुने भएको हो ।

मिर्चैया–कटारी–घुर्मी–ओखलढुङ्गा–सोलु सडक स्तरोन्नति गर्न उच्च प्राथमिकता दिई आवश्यक रकम विनियोजन भएको प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले जानकारी दिनुभयो । ऐतिहासिक महत्त्व बोकेको उक्त सडक सरकारले विशेष बजेट मार्फत स्तरोन्नति गर्ने निर्णय गरेको उहाँको भनाइ छ । “यो सडक प्रदेश १ को समृद्धिसँग जोडिएको छ । यही मार्ग भएर माथिल्लो सगरमाथाका सोलु, खोटाङ, ओखलढुङ्गा र उदयपुरको उत्तरी क्षेत्रमा खाद्यान्न र निर्माण सामाग्री ढुवानी हुन्छ ।” उहाँले भन्नुभयो, “म त्यो क्षेत्रको सांसद भएकाले सिद्धिचरण लोकमार्ग स्तरोन्नति मेरो प्राथमिकतामा छ । प्रदेश सरकारको सिफारिस र समन्वयमा राष्ट्रिय गौरवको योजना बनाएर सरकारले विशेष बजेट व्यवस्था गरेको छ । अब तत्काल ठेक्का प्रक्रिया सुरुआत हुन्छ । लोकमार्गको सडक चौडाइ बढाएर ढल निकास सहितको व्यवस्थित बनाइने छ । ”
कटारी–घुर्मी–ओखलढुङ्गा सडक स्तरोन्नतिको माग गर्दै उदयपुरको उत्तरी क्षेत्रका स्थानीयले केही दिन अघि सडक अवरुद्ध समेत गरेका थिए । आन्दोलित स्थानीयलाई सम्बोधन गर्दै मन्त्री गुरुङले तत्काल सडक स्तरोन्नतिको प्रक्रिया सुरु गराउने प्रतिबद्धता जनाउनुभएको थियो ।

दसकौँ अलपत्र बनेको सडक स्तरोन्नति हुने भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । कटारी नगरपालिका १४ का रुद्र प्याकुरेलले लामो समयदेखि सिद्धिचरण लोकमार्ग स्तरोन्नति गर्न गर्दै आएको माग ढिलै भए पनि पुरा हुनेभएपछि खुसी व्यक्त बताउनुभयो । उहाँले भन्नुभयो “हामीले निकै हारगुहार ग¥यौँ । सडक मर्मत गर्न माग गरेर कहीँ कतैबाट सुनुवाइ भएको थिएन ।” कटारी–घुर्मी सडक मर्मत भएपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने यस क्षेत्रका नागरिकको बाध्यता अन्त्य हुनेछ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button