तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा आइसोलेसन सेन्टर निर्माणमा तीव्रता 

बाँके । कोभिड १९ को बढ्दो जोखिमसँगै बाँकेमा अक्सिजन सहितको आइसोलेसन केन्द्र निर्माण र सञ्चालनले तीव्रता पाएको छ ।

बाँकेको डुडुवा गाउँपालिकाले पनि वडा नंंं–१ सन्तलिया गाउँस्थित बहुउद्देश्यीय भवनलाई १६ सैययाको अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार पारेको जनाएको छ । कोभिडको सङ्क्रमणबाट गम्भीर बिरामीहरूको उपचार सुरु गर्ने गरी आइसोलेसन केन्द्र तयार पारिएको हो ।

आइसोलेसन वार्डमा अक्सिजन, अक्सिजन सेक्सन कन्सन्टेटर, अक्सिजन ऐलीडन्ट सेक्सन मेसिन, अक्सीमिटर, स्वास्थ्य सरसफाइका सामाग्रीसहितको सुविधा सम्पन्न वार्ड तयार गरिएको स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले बताउनुभयो ।

स्वास्थ्य शाखा संयोजक बुढाका अनुसार गाउँपालिकाभित्र कोभिड सङ्क्रमणका बिरामीलाई राखेर उपचार गरिनेछ भने उपचारका क्रममा बिरामीलाई साह्रै अप्ठ्यारो भएमा एम्बुलेन्समार्फत भेरी अस्पताल रिफर गरिनेछ ।

कोरोना संक्रमितहरु अहिले होम आइसोलेसनमा रहेका छन् । उनीहरूको स्वास्थ्य अवस्था बारे जानकारीका लागि स्वास्थ्यकर्मीद्धारा फोन र अनुगमन गर्ने कार्य भइरहेको छ । गाउँपालिकाले पिसिआर जाँचका लागि वार्ड नंं २ स्थित बेतहनी स्वास्थ्य चौकीमा स्वाब सङ्कलन गरिरहेको छ ।

कोरोना संक्रमित बिरामीहरूको उपचार सेवाका लागि स्वास्थ्यकर्मी, औषधी, आइसोलेसन वार्ड, स्वाब सङ्कलन, हेल्थ डेस्क, एम्बुलेन्स लगायतका सेवा दिइरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । कोरोनाको दोस्रो लहरबाट बच्न सबैले विशेष सावधानी अपनाई स्वास्थ्य सुरक्षाका सामाग्री अपनाएर घरभित्रै बस्न अध्यक्ष चौधरीले आग्रह गर्नुभएको छ ।

गाउँपालिकाले सिमानाका अन्तर्गत तीन वटा स्थानमा हेल्थ डेस्कको स्थापना गरी आवतजावत गर्ने नागरिकहरूको स्वास्थ्य परिक्षण गरिरहेको छ ।

नेपालगन्जमा आइसोलेसन केन्द्र सञ्चालनमा
यसैबीच २ दिन देखि असिक्जन सहितको आइसोलेसन सञ्चालनको तयारीमा जुटेको नेपालगन्ज उपमहानगरपालिकाले निर्माण गरेको असिक्जन सहितको आइसोलेसन केन्द्र शुक्रवारदेखि सञ्चालनमा ल्याएको छ । भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा नेपालगन्जको रामलीला मैदानस्थित तालिम केन्द्रमा ५० शय्याको आइसोलेसन केन्द्र सञ्चालनमा आएको हो ।

केन्द्रको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख जिल्ला अधिकारी  शिवराम गेलाल, भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापा, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर राना, स्वास्थ्य कार्यालयका प्रमुख धीर जङ्ग शाहको उपस्थितिमा आइसोलेसन केन्द्रको सञ्चालन भएको हो ।

नगर प्रमुख राणाले आइसोलेसन केन्द्र सञ्चालनमा आएपछि भेरी अस्पतालको चाप कम गर्न सहयोग पुग्ने बताउनुभयो । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कोरोना संक्रमण समुदाय स्तरमा देखिएको भन्दै यसको रोकथाम र नियन्त्रणका लागि जिल्लावासी सबैको साथ र सहयोग आवश्यक भएको बताउनुभयो ।

उपप्रमुख उमा थापा मगरका अनुसार आइसोलेसनमा बस्नेहरूलाई खाना र खाजाको समेत व्यवस्था गरिएको छ । यसैगरी बिरामी ल्याउनका लागि निःशुल्क एम्बुलेन्स सेवा समेत दिइनेछ । उप–महानगरपालिकाका २३ वटै वडामा रहेका होम आइसोलेसन फोकल व्यक्तिहरूको सिफारिसका आधारमा सङ्क्रमितहरूलाई आइसोलेसनमा राखिने भएको छ ।

६ थान अक्सिजन  कन्सन्टेटर सहयोग
यसैबीच नेपालगन्ज उप–महानगरपालिकाको आइसोलेसनका लागि कान्तिपुर पब्लिकेशनका निर्देशक स्वस्तिका सिरोहियाले ६ थान अक्सिजन  कन्सन्टेटर सहयोग गर्नुभएको छ । यसको मूल्य प्रति एकथान ८५ हजार रुपियाँ हो ।

कान्तिपुर पब्लिकेशनका नेपालगन्ज कार्यालयका प्रमुख  अशोक श्रेष्ठले शुक्रवार नेपालगञ्जका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई हस्तान्तरण गर्नुभयो ।  सिरोहियाले नेपालगन्जमा थप मेडिकल सामग्री सहयोग गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button