दैनिक उपभोग्य वस्तुको मुल्यबृद्धिले उपभोक्ता मारमा
जुम्ला । जुम्लामा कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएसँगै अस्वाभाविक मुल्यबृद्धिले उपभोक्ता मारमा परेका छन् । जुम्लाका साना तथा ठुला व्यापारीले तेल, चिनी, ग्याँस सिलिन्डर, चामल लगायतका दैनिक उपभोग्य बस्तुको मूल्य मनपरी रुपमा बढाएपछि उपभोक्ता मारमा परेका हुन् ।
वैशाख पहिलो सातासम्म प्रति कार्टुन २१ सयमै विक्री भइरहेको स्वास्थीत खाने तेल कोरोना संक्रमण बढेसँगै एकाएक २ हजार ४ सयसम्म पुगेको छ । चिनी प्रतिबोरा ४ हजार मूल्य भए पनि वैशाख १३ गतेदेखि १७ गते सम्मको मूल्य हेर्दा सिधै ६ सयले वृद्धि भएर ४ हजार ६ सय पुगेको छ । आधा लिटर खाने तेलकै १ सय १० रुपैयाँ भएकोमा अहिले सिधै १३० देखि १४० रुपैयाँसम्म मूल्य तिर्न उपभोक्ता बाध्य भएका छन् । साथै धारा तेलको मूल्य त झनै छोइसक्नु छैन ।
कोरोना संक्रमण बढ्दै गएको मौका छोपी कृत्रिम अभाव सिर्जना गरी उपभोक्ताबाट ठग्ने मनसायका साथ मूल्यवृद्धि गर्ने व्यापारी, डिलरहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्नेमा नागरिक समाजको जोड छ ।
चन्दननाथ नगरपालिका १ का धन बहादुर नेपालीले भन्नुभयो, “सामान्य नागरिकलाई तेल किनेर खान समेत मुस्किल भएको छ । दैनिक सय रुपैयाँको कमाई छैन् । काम गरौँ काम छैन् । अहिले खाने तेल नै प्रतिप्याकेट १३० देखि १४० रुपयौ सम्म पर्न थाल्यो ।”
बालबच्चालाई नुहाइधुवाई गरेपछि घसाउने धारा तेलको मूल्य आफूजस्ता सामान्य नागरिकले किन्नै नसकिने गरी बढेको उहाँको गुनासो छ । १५० रुपैयाँ प्याकेट धारा तेल किनेर प्रयोग गर्न आफ्नो गक्षले नसक्ने दुखेसो पोखे ।
‘उत्पादन घटेपछि मूल्य बढ्यो’
दैनिक उपभोग्य वस्तुको उत्पादन घटेपछि मूल्य वृद्धि भएको व्यापारीहरू बताउँछन् । गत वर्षभरि कोरोना कारण उत्पादनशील उद्योग सबै बन्द भए भने कृषि क्षेत्र पनि ठप्प भएपछि कच्चा पदार्थ अभावका कारण मूल्य वृद्धि भएको हो ।
व्यापारी मीन प्रसाद पौडेलले उत्पादन घटेकै कारण तेल, चिनीमा थोरै मूल्यवृद्धि भएको बताउनुभयो । उहाँका अनुसार खाने तेल प्रति कार्टुन २२ सय ५० सम्म बढेको छ । ‘तर बजारमा २४ सय ५० सम्म लिएको कुरा सुनियो । हामीले प्रिन्ट मूल्यमै बिक्री गरेका छौँ । साना व्यापारीलाई अनुगमन गर्नुपर्छ । तर धारा तोरी तेलको मूल्य झन् छुनै नसकिने गरी बढेको छ ।’
सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले बजारमा अस्वाभाविक मूल्यवृद्धिको गुनासो आएको र विपद् व्यवस्थापन समितिको बैठकबाट समिति नै खडा गरी तत्कालै बजार अनुगमनलाई अघि बढाइने बताउनुभयो । सामानको मूल्यको बढेको हो की, व्यापारीले आफूखुसी नाफा कमाउन खोजेका हुन अनुगमन मार्फत दोषीलाई कारबाही गरिने उहाँको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्