तपाईँ सुन्दै हुनुहुन्छः

तीन विदेशी कम्पनीले करिब ७८ प्रतिशत लगानी गर्ने

मनाङ । मनाङ जिल्लामा निर्माण हुन लागेको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनामा तीन वटा विदेशी कम्पनीले करिब ७८ प्रतिशत लगानी गर्ने टुङ्गो लागेको छ ।
बुटवल पावर कम्पनीको स्वामित्वमा रहेको १३५ मेगावाटको उक्त आयोजना निर्माण तथा सञ्चालनका लागि चिनियाँ कम्पनी एससीआइजी इन्टरनेशनल लिमिटेडको सबैभन्दा धेरै ४९.४७ प्रतिशत सेयर स्वामित्व रहने गरी सेयर संरचना परिवर्तन गरिएको छ । बुटवल पावर कम्पनीले भने उक्त आयोजनामा आफ्नो २२.४० प्रतिशत मात्रै सेयर स्वामित्व राखेको छ ।
त्यस्तै, आयोजनाका अन्य दुई विदेशी लगानीकर्ता कम्पनी पनि चीनकै रहेका छन् । जसमध्ये छिङ्गचेङ्ग इन्टरनेशनल इन्भेस्टमेन्ट कम्पनीको यसमा १६.४९ प्रतिशत र क्यूवाइईसी इन्टरनेशनल कम्पनीको ११.६४ प्रतिशत सेयर स्वामित्व रहने भएको छ ।
गत चैत्रमा आयोजना र नेपाल विद्युत् प्राधिकरणबिच विद्युत् खरिद सम्झौता (पीपीए) समेत भइसकेको छ । २०८१ सालसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाको काम अघि बढाइएको बुटवल पावर कम्पनीले जनाएको छ ।
बुटवल पावरले चिनियाँ साझेदारहरूसँग मिलेर तीन वटा जलविद्युत आयोजना निर्माण गर्नेछ । तीमध्ये मनाङ मर्स्याङ्दी पहिलो आयोजना हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button