जोखिम नियन्त्रणमा चासो नदिँदा समुदाय स्तरमा कोरोनाको त्रास फैलियो
बझाङ । बझाङमा भारत र अन्य जिल्लाबाट आएकालाई क्वारेनटाइन र आइसोलेसनमा नराखी सिधै घर पठाउँदा कोरोनाको जोखिम बढेको छ ।
स्थानीय तहले कोरोनाको जोखिम नियन्त्रणमा चासो नदिँदा समुदाय स्तरमा कोरोनाको त्रास फैलिएको हो ।
अहिले जिल्लामा १ सय ३५ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको कोरोनाका कारण मृत्यु भएको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या पनि दिनदिनै बढ्न थालेको छ । जिल्ला बाहिरबाट घर फर्कनेको लर्को लाग्न थालेको छ ।
यसरी जिल्ला भित्रनेहरूलाई क्वारेनटाइनमा नराखी सिधै घर पठाउँदा कोरोना सङ्क्रमण फैलिने त्रास भएको तलकोट गाउँपालिकाका गणेश धरालाले बताउनुभयो । उहाँले सरकारले देशका विभिन्न शहरमा निषेधाज्ञा जारी गरेसँगै रोजगारी र अध्ययनका लागि जिल्ला बाहिर गएकाहरू घर फर्कन थालेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हुलका हुल मानिसहरू गाउँ पसेका छन् । गाँउमा न त क्वारेनटाइन छन् । न त सुरक्षा सतर्कता अपनाइएको छ । जसका कारण बझाङका अधिकांश गाउँ सङ्क्रमणको उच्च जोखिममा रहेका छन् ।” स्थानीय तहहरू कोरोनाको सङ्क्रमण नियन्त्रणका लागि संवेदनशील नहुँदा सङ्क्रमण भयावह हुन थालेको धरालाको भनाई छ ।
जिल्ला स्वास्थ्य कार्यालयले एक महिना अघि कोरोनाको जोखिम कम गर्न स्थानीय तहलाई स्वास्थ्य शाखा संयोजक प्रमुख रहने गरी टिम परिचालन गर्न पत्राचार गरेको थियो ।
जोखिम कम गर्न घटना अनुसन्धान र कन्ट्याक्ट ट्रेसिङ गर्ने गरी टिम परिचालन गर्न पत्राचार गरेको भए पनि स्थानीय तहले बेवास्ता गरेका छन् ।
कोरोनाको संक्रमण नियन्त्रणका लागि सक्रिय भूमिका खेल्नुपर्ने स्थानीय तहहरू सक्रिय नहुँदा सङ्क्रमण झन् बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
भारतबाट फर्केकाहरूमा कडा खालको सङ्क्रमण देखिएको र हालसम्म परीक्षण गरिएकामध्ये ४० प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना सम्पर्क व्यक्ति नारायण जोशीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “भारतबाट फर्केका दुई जनाको त सङ्क्रमणका कारण मृत्यु भइसकेको छ । अहिले गम्भीर अवस्थाका २५ जनालाई कोभिड वार्डमा राखेर उपचार गराइरहेका छौँ । यसरी संक्रमण दर बढ्दै जाने हो भने बेड पनि थप्नुपर्ने अवस्था आउँछ । सङ्क्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ नहुँदा सङ्क्रमण झन् बढ्दै गएको हो । सङ्क्रमितलाई आइसोलेसनमा राख्ने र जिल्ला भित्रनेलाई कडाइका साथ क्वारेनटाइनमा राख्ने व्यवस्था नभए सङ्क्रमणले भयावह रूप लिने सङ्केत छ ।”
स्थानीय तहमा क्वारेनटाइन नभएको र जिल्ला बाहिरबाट घर फर्केकालाई होमक्वारेन्टाइनमा बस्न आग्रह गरिएको केदारस्युँ गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर भण्डारीले बताउनुभयो ।
उहाँले अहिलेसम्म त हाम्रो गाउँपालिकामा त्यति जोखिम छैन । गत बर्ष क्वारेनटाइन व्यवस्थापन गर्न हम्मे हम्मे भयो । हामीले जिल्ला भित्रने सबैलाई १० दिन अनिवार्य होमक्वारेन्टाइनमा बस्न भनेका छौं । हामीसँग कोभिड वार्ड पनि छ । लक्षण देखिएका र शङ्कास्पद व्यक्तिलाई सोही ठाउँमा चिकित्सकको निगरानीमा राखेका छौँ । सङ्क्रमणबाट बच्न सरकारले लागु गरेका नीति नियमको पालना गर्न विभिन्न सञ्चार माध्यमबाट सूचना सम्प्रेषण गरी रहेका छौँ । जिल्लामा कोरोनाको सङ्क्रमण बढिरहेकाले आफूहरू चनाखो भएर सुरक्षाका उपाय अपनाउन थालिएको उहाँले बताउनुभयो ।
सरकारी कार्यालयका सेवा बार अनुसार
जिल्लामा कोरोनाको सङ्क्रमण बढेपछि सरकारी कार्यालयले १२ वटै स्थानीय तहलाई बार अनुसार सेवा दिन सुरु गरेको छ ।
कार्यालयमा भिडभाड हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै कार्यालयले सबै स्थानीय तहलाई बार छुट्टाइएको हो ।
जिल्ला प्रशासन कार्यालयले, घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला अदालत, मालपोत तथा नापी लगायतका सरकारी कार्यालयले सेवाग्राहीको भिडभाड रोक्न स्थानीय तहलाई हप्तामा दुई/दुई दिन छुट्टाइएर सेवा सुरु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै आफ्नो स्थानीय तहलाई छुट्टाइएको बार अनुसार मात्रै कार्यालयमा उपस्थित भएर सेवा लिन आह्वान गरेका छन् ।
निमित्त सिडिओ विष्णुप्रसाद सुवेदीलाई कोरोना सङ्क्रमण भएपछि नागरिकता जारी गर्ने काम बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बुधवार साँझ सुवेदी संक्रमित भएर आइसोलेसनमा बसेपछि बिहीबारदेखि नागरिकता जारी गर्ने काम बन्द भएको छ ।
यस्तै जयपृथ्वी नगरपालिकाका कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि २० गतेसम्मका लागि सबै सेवा बन्द गरेको छ । खप्तडछान्ना गाउँपालिकामा पनि कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको छ ।
सदरमुकाम लगायतका मुख्य बजार बन्द
कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि बझाङ सदरमुकाम चैनपुर लगायतका मुख्य बजार क्षेत्र बन्द भएका छन् । बजारमा भिडभाड हुन नदिन र पसल बन्द गराउन प्रहरी परिचालन गरिएको छ ।
बिहीबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले समुदाय स्तरमा कोरोना सङ्क्रमण देखिन थालेको निष्कर्ष निकाल्दै शुक्रवारबाट बजार बन्द गर्ने निर्णय गरेको थियो ।
जिल्लामा कोरोना सङ्क्रमण दर बढ्दै गएकाले अर्को सूचना जारी नभएसम्मका लागि बजार बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद सुबेदीले बताउनुभयो ।
जथाभाबी आवतजावतले जोखिम बढाएकाले सदरमुकाम चैनपुरमा आवत जावतमा पनि रोक लगाइएको छ । स्वास्थ्य सेवा प्रवाह गर्ने संस्था बाहेकका खाद्यान्न, तरकारी र ग्यास पसल बिहान ६:०० बजेदेखि ९:०० बजेसम्म र साँझ ५:०० बजेदेखि ७:०० बजेसम्म मात्र खुला हुने भएका छन् । औषधी उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै बजार क्षेत्रमा प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ ।






प्रतिक्रिया राख्नुहोस्