निषेधाज्ञामा धमाधम निर्माण
कर्णाली। कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर सुर्खेतमा पनि तीव्र रुपमा फैलिरहेको छ ।
प्रदेशमा ९८१ कोरोनाका सक्रिय सङ्क्रमितमध्ये ६०० बढी वीरेन्द्रनगर नगरपालिकाका मात्रै छन् । सङ्क्रमण फैलिन नदिन मङ्गलवार रातिदेखि जिल्ला प्रशासन कार्यालय सुर्खेतले निषेधाज्ञा जारी गरेको छ ।
अत्यावश्यक कामबाहेक नागरिकलाई घरबाहिर निस्कन रोक लगाए पनि सार्वजनिक विकास निर्माणका कामले भने यस पटक निरन्तरता पाइरहेका छन् ।
गत वर्ष बन्दाबन्दी र निषेधाज्ञा हुँदा निर्माण ठप्प पारिएको थियो । यस पटक भने सरकारले जनस्वास्थ्यका मापदण्ड पालना गरेर विकास निर्माणका कार्य सञ्चालन गर्न अनुमति दिएको हो ।
यतिबेला यहाँका सडक, भवनलगायत पूर्वाधारका काम धमाधम भइरहेका छन् । पूर्वाधार विकास निर्देशनालय सुर्खेतका अनुसार चालू आर्थिक वर्षभित्र वीरेन्द्रनगरका पक्की पुल, सडक कालोपत्रे, नाली निर्माणलगायत काम सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।
निर्देशनालयका इन्जिनियर सूर्य शाहीले प्रदेश सरकार अन्तर्गतका सार्वजनिक निर्माणसँग सम्बन्धित काम जनस्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गरिएको बताउनुभयो ।
निषेधाज्ञामा सडक कालोपत्रेको काम प्रभावकारी भइरहेको निर्माणमा संलग्न मजदूरको भनाइ छ । “सडकमा मानिस र गाडी नहुँदा कालोपत्रे गर्न धेरै सजिलो भएको छ,” मालिका निर्माण सेवाका बखत शाहीले भन्नुभयो, “स्वास्थ्य सुरक्षाका सावधानी अपनाएर फिल्डमा खटिएका छौँ, भौतिक दूरी, मास्क तथा नियमित स्यानिटाइजरको प्रयोगमा लापरबाही गरेका छैनौँ ।” निर्माण सञ्चालन हुँदा गत बर्षझैँ मजदुरले रोजगारी गुमाउनुपर्ने बाध्यता हटेको छ ।रासस








प्रतिक्रिया राख्नुहोस्