भेरी अस्पतालमा डाक्टरको अभाव कायमै, माँग धेरै आवेदन कम

बाँके । भेरी अस्पतालमा कर्मचारी अभावलाई व्यवस्थापन गर्न गरिएको प्रयास पुरा नहुने देखिएको छ । नेपाल सरकारको सहयोगमा कर्मचारी भर्नाका लागि अस्पतालले आव्हान गरेको माँग अनुसार आवेदन नआएपछि व्यवस्थापनमा कठिनाई देखिएको हो ।
कोरोना संक्रमणले भयावह रुप लिएको नेपालगन्जस्थित भेरी अस्पतालमा काम गर्न डाक्टरहरुले अनिच्छा देखाएका छन् । सरकारले अस्पतालका लागि १० मेडिकल अफिसरसहित ८० जना स्वास्थ्यकर्मी माग गरेको भए पनि २ जना मात्रै मेडिकल अफिसरको आवेदन परेको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले बताउनुभयो ।
दोस्रो चरणको कोरोनाले भयावह रुप लिएपछि भेरीका लागि सरकारले ८० जना स्वास्थ्यकर्मी भर्ना गर्न अनुमति दिएको थियो । अन्य पदमा मागभन्दा बढि आवेदन आए पनि मेडिकल अफिसरमा भने आवेदन कम आएको मेसू थापाले बताए । आवेदन दिएका स्वास्थ्यकर्मीले केही दिनमै काम सुरु गर्ने छन् ।
‘आवेदन दिएकाहरु केही दिनमै काम थाल्छन् तर चिकित्सक तहको माग गरे पनि पाइरहेका छैनौं,’ थापाले भने । भेरीका लागि मेडिकल अफिसर १० जना, एनस्थेसियोलोजिस्ट ३ जना, नर्सिङ अफिसर २ जना, नर्सिङ स्टाफ ४० जना, ल्याव टेक्निसियन ५ जना र २० जना सरसफाइ कर्मचारी माग गरिएको थियो ।
‘हामीले स्वास्थ्यकर्मी अपुग भएपछि स्वास्थ्य मन्त्रालयसँग माग गरेका थियौं, तर अहिले कहीँबाट पनि पठाउने अवस्था नभएपछि उहाँहरुले बजेटको व्यवस्था गरिदिएर भर्ना गर्न भन्नु भएको थियो, अनि हामीले भर्ना प्रक्रिया थालेका हौं,’ थापाले भन्नुभयो, ‘अहिले जति जनशक्ति भए पनि अपुग हुने अवस्था छ तर यो जनशक्ति आएपछि ड्युटी मिलाउन थोरै भए पनि सहज हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्