तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्ची क्षेत्रका अधिकांश क्रसरहरू मापदण्ड विपरीत सञ्चालित

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका क्षेत्र भित्रका अधिकांश क्रसरहरू नदीजन्य पदार्थ उत्खनन मापदण्ड विपरीत सञ्चालित रहेको पाइएको छ । नगरपालिकाका प्रमुख डम्बर अर्याल, उप प्रमुख भगवती नेपाल, सम्बन्धित वडाका वडा अध्यक्ष लगायत सुरक्षाकर्मी तथा पत्रकारहरूको संयुक्त टोलीले नगरक्षेत्र भित्र सञ्चालित ८ वटा क्रसरहरूको बिहीबार अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा मेलम्ची १३ फटकशिलामा सञ्चालित एकोन क्रसर एग्रिगेट प्रा.लि.ले मापदण्ड विपरीत पोखरीहरू निर्माण गरी उत्खनन गरेको पाइएको छ । त्यस्तै मेलम्ची फट्केश्वर इन्द्रावती स्टोन प्रा.लि.ले नदिको धार नै परिवर्तन गराई अत्यधिक गहिराइमा उत्खनन गरेको भेटिएको छ । मापदण्ड विपरीत उत्खनन कार्यमा प्रयोग भएका उक्त क्रसर उद्योगका एक्स्काभेटर नियन्त्रणमा लिई रु ५० हजार दण्ड जरिवाना गर्ने निर्णय गरिएको  मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले बताउनुभयो ।
यस्तै तिनपिप्ले निर्माण सेवा, सोना क्रसर उद्योग प्रा.लि. जाल्पा इन्फ्रास्ट्रकचर प्रा.लि. र पाल्चोकीमाई रोडा ढुङ्गा उद्योग प्रा.लि.ले मापदण्ड भन्दा बढी नदीजन्य पदार्थ उत्खनन गरेको पाइएपछि वैशाख १८ गते भित्रमा बढी उत्खनन भएको ठाउँका खाल्डा खुल्डी पुरी सक्न निर्देशन दिइएको अनुगमन समितिका सदस्य इन्जिनियर जित बहादुर कार्कीले जानकारी दिनुभयो । यस्तै गङ्गा इन्द्रावती क्रसर उद्योग प्रा.लि. र जाल्पा इन्फ्रास्ट्रकचर प्रा.लि लाई नदीजन्य पदार्थ उत्खननमा हाललाई प्रतिबन्ध लगाइनुका साथै अनुगमनका क्रममा एक मात्र पाल्चोकमाई इन्फ्रास्ट्रकचर प्रा.लि.ले मापदण्ड भित्र रहेर नदीजन्य पदार्थ उत्खनन गरेको पाइएको उहाँको भनाई छ ।
हिउँदमा मापदण्ड विपरीत उत्खनन हुने र बर्षायाममा नदिबाट बालुवा लगायत नदीजन्य पदार्थको अवैध रुपमा चोरी निकासी बढ्न सक्ने भन्दै प्रहरीले सोको नियन्त्रणको लागि तयारी थालेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिनुभयो ।
मेलम्ची क्षेत्रका धेरैजसो क्रसरहरूले नियम विपरीत नदीको धार नै परिवर्तन हुने गरी नदीजन्य पदार्थ उत्खनन गर्नाले यहाँका सयौँ रोपनी खेतीयोग्य जमिनमा सिँचाइको अभाव हुने गरेको र वातावरणमा समेत नकारात्मक प्रभाव परेको स्थानीयहरूले गुनासो गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button