तपाईँ सुन्दै हुनुहुन्छः

निषेधाज्ञा उल्लङ्घन गर्ने १ सय ५० मोटर साइकल नियन्त्रणमा, जन्ती बस पनि होल्डमा

वीरगंज । निषेधाज्ञा जारी भएसँगै यसको उल्लङ्घन गर्नेहरूलाई प्रहरीले कारबाही थालेको छ ।
सो क्रममा प्रहरीले वीरगंजको घण्टाघरमा आज दिउँसो अटेरी गर्नेलाई लाठी चार्ज समेत गरेको छ । भने १ सय ५० भन्दा बढी सवारी साधन नियन्त्रणमा लिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरीहरू वीरगंज महानगरपालिकाका विभिन्न चोकहरूमा खट्दै कडाइका साथ चेकजाँच गरिरहेका छन् ।
बिना काम घरबाहिर निस्कनेहरूलाई घर फर्कन आग्रह गरिएको तथा कार्यालय जानेहरूलाई परिचयपत्रका आधारमा हिँडडुल गर्न दिएको छ । पर्सा जिल्लाका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले निषेधाज्ञाको पहिलो दिन अटेर गर्नेहरूलाई सम्झाई बुझाई फर्काउने तर भोलि देखि कानुन बमोजिम कारबाही गर्ने बताउनुभयो ।
त्यसै गरी सिमानाकामा पनि कडा निगरानी राखिएको उहाँले बताउनुभयो । उहाँले निषेधाज्ञा अवधिभर नियम पालना गर्न पनि सम्पूर्ण पर्सा जिल्लाका बासिन्दालाई आग्रह गर्नुभएको छ  ।
यस्तै निषेधाज्ञा अवहेलना तथा अटेरी गर्नेलाई प्रहरीले कारबाही थालेको छ । त्यसै गरी  १५ जना भन्दा बढी जन्ती लिएर हिँडेको यात्रु वाहक बस, ३ वटा टेम्पु, ४ वटा ठेला सहित १ सय ५० वटा मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो ।
जन्ती बसलाई भने २ घण्टा होल्ड गरी जिल्ला प्रशासन कार्यालयबाट पास ल्याएपछि छाडिएको र अन्य सवारी साधन भने निषेधाज्ञा अवधि भर नछोड्ने प्रहरी प्रवक्ता खनालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button