सप्तकोसी नगरपालिकामा वैशाख २१ गतेसम्म अत्यावश्यक बाहेक सबै सेवा बन्द
सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिकाले वैशाख २१ गते सम्मका लागि अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरू बन्द गर्ने भएको छ ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर कोरोनाको नयाँ भेरियन्ट सङ्क्रमण बढ्दो क्रममा रहेको सन्दर्भ उल्लेख गर्दै नगरपालिकाबाट दिने अति आवश्यक सेवा बाहेक सबै सेवा बन्द हुने सूचनामा उल्लेख गरेको छ ।
सूचनामा भनिएको छ, नगरपालिको क्षेत्रमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको तथा थप जोखिमको अवस्था रहिरहेकोले सम्पूर्ण नगरबासीहरूलाई आवश्यक स्वास्थ्य मापदण्ड अवलम्बन गर्न, भिडभाड हुने कार्य नगर्न, अनावश्यक रूपमा घरबाट ननिस्कन, अत्यावश्यक अवस्थामा घर बाहिर निस्कनु पर्दा अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गरेको छ ।
सङ्क्रमणलाई समुदायमा विस्तार हुनबाट नियन्त्रण गर्न आवश्यक देखिएकोले सम्पूर्ण हाट बजार तथा भिडभाड हुने कार्य सञ्चालनमा रोक लगाइएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाहरू २०७८ वैशाख २१ गते मङ्गलवार सम्मका लागि बन्द गरिएको समेत सूचनामा जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्