जिल्ला अस्पताल अछाममा आइसियु र भेन्टिलेटर सञ्चालनमा समस्या

जिल्ला । सरकारले जिल्ला अस्पताल अछामलाई कोभिड अस्पताल भनेर सञ्चालन गरे पनि गम्भीर प्रकृतिका कोरोना सङ्क्रमितलाई राखेर उपचार गर्नुपर्ने भेन्टिलेटर र आइसियु सञ्चालनका लागि ल्याइएका उपकरण ४ महिनादेखि थन्किएका छन् ।
भेन्टिलेटर र आइसियु सञ्चालनका लागि उपकरण पठाए पनि आवश्यक जनशक्ति नहुँदा ४ महिनादेखि उपकरण सञ्चालनमा आउन सकेका छैनन् । आवश्यक दक्ष जनशक्ति नहुँदा उपकरण प्रयोगमा ल्याउन नसकिएको जिल्ला अस्पताल अछामका निमित्त प्रमुख डा. अतुल भारद्धाजले बताउनुभयो ।
हाल अछाममा गम्भीर प्रकृतिका कोरोनाका बिरामीलाई भेन्टिलेटर र आइसियुमा राखेर उपचार गर्नुपर्ने भए पनि कोभिड अस्पताल समेत रहेको जिल्ला अस्पतालमा आएका बिरामीलाई रेफेर गर्नुपर्ने अवस्था रहेको छ ।
भेन्टिलेटर र आइसियु सञ्चालनका लागि छुटै विशेषज्ञ, ल्याब सहित दक्ष जनशक्ति तथा आवश्यक मात्रामा चाहिने अक्सिजनको समेत अभाव रहेको निमित्त प्रमुख डाक्टर अतुल भारद्धाजलकाे भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले भने सञ्चालनका लागि ल्याइएका भेन्टिलेटर र आइसियुका उपकरण सञ्चालनका लागि पहल गरिने बताउनुभयो ।
अछाम जिल्लामा कोरोनाका मात्रै नभई अन्य प्रकृतिका भेन्टिलेटर र आइसियुमा राखेर उपचार गर्नु पर्ने बिरामी समेतलाई कैलालीसहित अन्य भेन्टिलेटर र आइसियु भएका अस्पताल रिफर गर्नुपर्ने अवस्था रहेको छ । अछाममा काेरानाका बिरामी संक्रमित हुने क्रम बढ्दो छ ।








प्रतिक्रिया राख्नुहोस्