तपाईँ सुन्दै हुनुहुन्छः

मिथिला आर्ट ग्यालरीको निर्माण शुरु

जनकपुरधाम । मैथिली भाषा साहित्य, कला, संस्कृति र गीतको प्रर्बद्धनका लागि जनकपुरधाममा निर्माण हुने मिथिला आर्ट ग्यालरीको आज शिलान्यास गरिएको छ ।
मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत मिथिला आर्टको प्रवर्द्धन र प्रोत्साहनका लागि जनकपुरधाम उपमहानगरपालिकाको कनकपटी गाउँमा मिथिला आर्ट सङ्ग्रहालयको निर्माण हुने भएको हो ।
आर्ट ग्यालरीसँगै सोही ठाउँमा रहेको ऐतिहासिक सुब्बाजी पोखरीको सौन्दर्यीकरण, मिथिला आर्ट ग्यालरी, वाल उद्यान, वृक्षारोपण सहितका कार्यहरू योजनाबद्ध तरिकाले गरिने मुख्यमन्त्री स्वच्छता अभियानका सिनियर डिभिजन इन्जिनियर भगवान् झाले जानकारी दिनुभयो ।
प्रदेश नंं २ का प्रदेश सभा सदस्य राम अशिष यादव, जनता समाजवादी पार्टी धनुषाका अध्यक्ष पशुपति यादव, जनकपुरधाम उपमहानगरपालिकाको सो वडाका अध्यक्ष परमेश्वर यादव, उपाध्यक्ष अम्भु प्रसाद साह, नगर अध्यक्ष द्वय विष्णु देव साह, तेजनारायण यादवले संयुक्त रुपमा शिलान्यास भयो ।
५ करोडको लगानीमा निर्माण हुने आर्ट ग्यालरीको निर्माण अगामी १५ महिनामा सकिने पनि सिनियर डिभिजन इन्जिनियर झाले जानकारी दिनुभयो ।
आर्ट ग्यालरीमा मिथिला चित्र कलाको प्रदर्शन, प्रशिक्षण तथा बिक्री कक्ष पनि रहने भएकाले यसले मिथिला आर्टको विकासमा थप टेवा पुग्ने विश्वास गरिएको छ । मिथिला आर्टमा जीविकोपार्जन गर्न चाहनेका लागि वरदान नै साबित हुने विश्वास प्रदेश सभा सदस्य रामअशिष यादवले व्यक्त गर्नुभयो ।
पूर्ण स्वास्थ्य सुरक्षा सावधानी एवं नेपाल सरकारले तोकेको मापदण्ड अनुसार नै कार्यक्रम गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा सीमित व्यक्तिलाई मात्र आमन्त्रण गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button