१६ देखि २२ गतेसम्म कञ्चनपुरमा लकडाउन
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले यही वैशाख १६ गते बिहान ६ बजेदेखि २२ गतेसम्म कञ्चनपुर जिल्लामा लकडाउन गर्ने निर्णय गरेको छ ।यस अवधिमा औषधी तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल व्यवसाय बाहेक अन्य सबै पसल व्यवसाय बन्द गर्ने तर तरकारी, फलफूल तथा खाद्य पसल व्यवसाय भने बिहान ६ बजेदेखि ९ बजेसम्म मात्रै जनस्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न पाइने छ ।
निर्णय अनुसार सभा, सम्मेलन, गोष्ठी, सेमिनार लगायत भिडभाड हुने ठाउँ सबै बन्द गर्नुपर्नेछ भने अत्यावश्यक बाहेकका अन्य सार्वजनिक सेवा हाललाई स्थगन गरिएको हुँदा अत्यावश्यक कामकाज बाहेक घरबाहिर हिँडडुल गर्न समेत नपाइने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताउनुभयो ।
त्यस्तै, विवाह वा व्रतबन्धको हकमा बढीमा १५ जनाको मात्रै सहभागिता गराएर स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने बताइएको छ ।
यस अवधिमा अत्यावश्यकीय वस्तु तथा सेवाहरू भने जारी रहने छन् तर प्रशासनले जारी गरेको आदेशअनुसार हुनुपर्ने छ ।
विश्वभर फैलिँदै गइरहेको नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमण कञ्चनपुरमा समेत उच्च दरमा फैलिएकोले रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकार र प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशको पूर्ण पालना गर्न गराउन हुन सबैलाई अनुरोध गरिएको छ ।
आदेशको उल्लङ्घन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने उपर प्रचलित कानून बमोजिम कारबाही हुने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्