तपाईँ सुन्दै हुनुहुन्छः

रक्सौल नाकाबाट भारतीय नागरिकको आगमनमा रोक

वीरगञ्ज  । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि मुलुकको प्रमुख नाका बीरगंज रक्सौल नाका हुँदै भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले भोलि (बिहीबार बिहान ४ः०० बजेबाट एक साताका लागि पर्सामा निषेधाज्ञा घोषणा गरेसँगै भारतबाट नेपाल आउने पर्साका  ग्रामीण क्षेत्रका सम्पूर्ण नाका बन्द हुने भएका छन् ।
वीरगंज रक्सौल नाकाबाट नेपाल आउन खोज्ने भारतीय नागरिकले समेत ७२ घण्टा भित्रको पिसिआर नेगेटिभ रिपोर्ट लिएर मात्र नेपाल प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले बताउनुभयो ।
भारतमा कोभिड–१९ को सङ्क्रमण अत्यधिक बढिरहेको हुँदा नेपालमा नभित्रियोस् भनेर पूर्व सतर्कता अपनाउँदै मुलुकको प्रमुख नाका बीरगंज रक्सौलमा  भारतीय नागरिकको अनावश्यक प्रवेशलाई रोक लगाइएको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो ।
त्यसै गरी भारतबाट नेपालमा बिहे बारीका लागि आउने भारतीय नागरिक दुलहासहित निजका परिवारका केही सदस्यलाई मुख्य नाकाबाट मात्रै प्रवेश गर्न दिइने तर दुलहा समेत नेपाल भित्रिने निजका परिवारको ७२ घण्टा भित्र गरिएको पिसिआरको नेगेटिभ रिपोर्ट अनिवार्य रूपले हुनु पर्ने अन्यथा नेपाल भित्रिन नपाउने व्यवस्था मिलाइएको पाण्डेले बताउनुभयो ।
यता भारतमा बसेर रोजगारी गर्ने, काम विशेषले भ्रमण गर्ने र अध्ययनका लागि गएका नेपालीहरूलाई भने उनीहरूको परिचय पत्रको आधारमा चेकजाँच तथा स्वास्थ्य परिक्षण गरी नेपाल प्रवेश गराउने र तोकिएको होल्डिङ्ग सेन्टरमा राखिने प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो

प्रतिक्रिया राख्नुहोस्

Back to top button