तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेर बजेट तर्जुमा गर्न सरकारलाई सुझाव

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७८–७९ को बजेट तर्जुमा गर्न सरकारलाई सुझाव दिएको छ । नेपाल चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीहरूले सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आगामी आर्थिक वर्षको बजेट तर्जुमाका लागि चेम्बरका तर्फबाट सुझावहरू पेश गर्नुभएको हो ।
अर्थ मन्त्रालयमा भएको कार्यक्रममा अध्यक्ष मल्लले बजेटको आकार ठूलो भन्दा पनि कार्यान्वयन गर्न सकिने हुनुपर्ने बताउनुभयो । अध्यक्ष मल्लले नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिमा कोरोना प्रभावित अर्थतन्त्रका लागि दिएका सहुलियतपूर्ण व्यवस्थाहरूलाई आगामी वर्षमा पनि निरन्तरता दिइनुपर्ने बताउनु भयो ।
सुझाव ग्रहण गर्दै अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले चेम्बरले बजेट तर्जुमाका लागि दिएका सुझावहरू अध्ययन गरी बजेटमा सम्बोधन गर्न प्रयास गरिने बताउनुभयो ।
बजेट तर्जुमाका लागि नेपाल चेम्बर अफ कमर्सका मुख्य सुझावहरूः
  • कोभिड—१९ ले उद्योग व्यवसाय, रोजगारी, स्वास्थ्य, शिक्षा, पर्यटन, निर्माण लगायत अर्थतन्त्रका सबै क्षेत्रहरूमा अत्यन्तै प्रतिकूल प्रभाव पारेको छ । यी गम्भीर असरहरू न्यूनीकरण गर्न तथा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नका लागि स्वरोजगारी वृद्धि गर्न बजेटले विशेष व्यवस्था गर्नुपर्दछ ।
  • कोरोना महामारीको दोस्रो प्रकोप तीव्र गतिले बढिरहेको अवस्थामा अर्थतन्त्रलाई नकारात्मक प्रभाव पर्न नदिन अत्यावश्यक स्वास्थ्य सुविधाहरूको परिचालन तथा व्यवस्था गर्नुपर्दछ । निजी क्षेत्रले पनि खोप झिकाउन पाउने व्यवस्था मिलाउनुपर्दछ ।
  • चालु आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको ५० अर्बको स्टिमुलस प्याकेज पूर्णरुपमा कार्यान्वयनमा आएको छैन । कोरोना महामारीको प्रभाव निरन्तर रहेको वर्तमान अवस्थामा आगामी आर्थिक वर्षको बजेटमा जिडिपीको ५ प्रतिशत राहत प्याकेज व्यवस्था गरिनुपर्दछ । सो रकम ३ प्रतिशत ब्याजदरमा उपलब्ध गराइनुपर्दछ ।
  • मुलुकमा पर्याप्त अवसर नहुँदा युवा श्रम शक्ति पलायन भएको छ । यसको दीर्घकालीन समाधान खोज्न स्वदेशमै रोजगारी वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्रको विकास गरिनुपर्दछ ।
  • युवाहरूलाई Startup Business मा प्रोत्साहन हुने गरी बजेटमा व्यवस्था गरिनुपर्दछ । IT Industry लाई विकास गरी गाउँ तहमा पु¥याउनु पर्दछ । कृषिमा स्नातक अध्ययनरत विद्यार्थीहरूलाई अध्ययन सकिनासाथ फिल्डमा गई कम्तीमा एक महिनाको internship गर्ने व्यवस्था मिलाउनुपर्दछ ।
  • सरकार अन्तरगतका संस्थाले २ वर्षको लागि कृषि उत्पादनको Buffer stock राख्ने व्यवस्था गरिनु पर्दछ । यसबाट मूल्य वृद्धिलाइ नियन्त्रण गर्ने र आपूर्ति प्रणाली सहज हुनेछ । यसको लागि स्थानीय कृषकहरूसँग Buy back arrangement को व्यवस्था गरी किसानहरूलाई समुचित मूल्य प्राप्त गर्न सक्ने वातावरण बनाउनुपर्दछ । साथै, एक सय बिगाहा भन्दा बढी क्षेत्रमा व्यवसायिक खेती गर्नेलाई बैंकबाट कर्जा प्रवाह हुँदा विशेष सुविधाको व्यवस्था र सरकारबाट पनि यस क्षेत्रमा लगानी प्रवर्द्धन गर्न थप आकर्षक प्याकेज तथा सेवा उपलब्ध हुनु पर्दछ ।
  • वास्तविक कृषिजन्य वस्तु उत्पादकले उत्पादनको प्रतिफल पाउने गरी सरकारले नीति बनाउनुपर्दछ । कृषि बजारमा वास्तविक किसानले भन्दा बिचौलियाले कृषि उत्पादनबाट प्राप्त हुने प्रतिफल बढी पाइरहेकोले बिचौलियाको प्रवाह कम गर्न किसान र व्यवसायीको प्रत्यक्ष संलग्नता हुने गरी हरेक स्थानीय तहमा एउटा अत्याधुनिक कृषि बजार एग्रोभेट/संकलन घर/शीत भण्डार सहितको केन्द्र निर्माण गरिनुपर्दछ ।
  • बहुराष्ट्रिय कम्पनीहरूलाई आकर्षित गर्न सरकारले लगानीको विश्वासिलो वातावरण निर्माण गरी प्रभावकारी हेजिङको लागि कार्यक्रमहरू ल्याइनुपर्दछ ।
  • खुद्रा कारोबारलाई सरलीकरण र सहजीकरण गर्न ५० लाखको थ्रेसहोल्ड वृद्धि गरी एक करोड रुपैयाँ कायम गर्नुपर्दछ । खरिद खाताको आधारमा Turn Over Tax ०.५ (शून्य दशमलव पाँच) प्रतिशत कायम गरिनुपर्दछ ।
  • दक्षिण एसियाली मुलुकहरूको कर संरचना अध्ययन गरी प्रतिस्पर्धी कर नीति अवलम्बन गर्नुपर्दछ । करको दर भन्दा दायरा बढाउने नीति अख्तियार गरिनुपर्दछ ।
  • एकीकृत कर प्रणाली र एकल कर राजश्व खाताको व्यवस्था गरी करदाताले सङ्घ, प्रदेश र स्थानीय स्तरमा एक द्वार प्रणाली (One Window System) मार्फत कर तिर्ने व्यवस्था गरिनुपर्दछ ।
  • WTO मा गरिएका प्रतिबद्धता अनुसार भन्सार दरबन्दी समायोजन गर्दै लैजानुपर्दछ । WTO  को मान्यताअनुसार कारोबार मूल्यलाई मान्यता दिई भन्सार जाँच पासमा कायम रहेको सन्दर्भ मूल्यको प्रचलन खारेज गरिनुपर्दछ ।
  • अत्यावश्यक वस्तुहरू र विलासिताका सामानहरूमा एकल दर प्रणालीले सामाजिक न्यायमा समेत आघात परेकोले विद्यमान मूल्य अभिवृद्धि करको एकल दर प्रणाली अन्त्य गरी दुई तहको बनाउनुपर्दछ । अत्यावश्यक वस्तुमा १० प्रतिशत नबढ्ने गरी भ्याट कायम गरिनुपर्दछ ।
  • घरजग्गा कारोबारलाई व्यवस्थित तथा पारदर्शी बनाउन शेयर कारोबारमा जस्तै घरजग्गामा पनि ब्रोकर कम्पनीमार्फत कारोबार गर्ने व्यवस्था मिलाउनुपर्दछ ।
  • नकारात्मक सूचिमा रहेका धुमपान तथा मद्यपान बाहेक सबै प्रकारका उत्पादनहरू अन्तःशुल्क मुक्त हुनुपर्दछ । घटाइएको भन्सार महसुललाई अन्तःशुल्कमा समायोजन गर्ने प्रथा खारेज गरिनुपर्दछ ।
  • सरकारले आर्थिक वृद्धिका लागि आन्तरिक ऋण घटाउने र पुँजीगत खर्च बढाउने नीति अख्तियार गरिनुपर्दछ ।
  • आर्थिक वृद्धिका लागि एकल दरको ब्याज प्रणाली लागू गरिनुपर्दछ ।
  • कुनै फर्म, कम्पनी, संस्था तथा व्यक्तिबाट जारी भएको चेक बाउन्स भएमा त्यस्तो फर्म, कम्पनी, संस्था र व्यक्तिलाई कालोसूचीमा राख्ने व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गरिनुपर्दछ ।
  • नेपालमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउनमा सरकारले विशेष तथा आकर्षक नीति लिनुपर्दछ । हाल कागजी प्रतिबद्धता आउने तर पुँजी नआउने समस्या छ । वैदेशिक लगानी भित्र्याउँदा प्रविधि तथा पुँजी नै भित्र्याउने व्यवस्था गरिनुपर्दछ ।
  • भन्सार अत्यधिक हुँदा निर्यात उद्योगमा ह्रास आएकोले कच्चापदार्थ आयात गर्दा उद्योगहरूसँग लिइने भन्सार ५ प्रतिशत नबढ्ने गरी तय गरिनुपर्दछ ।
  • विश्व बजारसम्म पहुँच नभएका साना, लघु, घरेलु, मझौला उद्योगी, सहकारी तथा किसानले निकासीको सुविधा पाउने गरी Export House स्थापना गरिनुपर्दछ ।
  • हाल अक्सिजनको अभाव भइरहेकोमा स्थानीय उत्पादन पर्याप्त भइरहे पनि सिलिन्डरको अभावले आपूर्तिमा समस्या देखिन थालेकोले अक्सिजन सिलिन्डरको आयातमा भन्सार महसुल छुट हुनुपर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button