तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा कोरोना संक्रमण बढ्दो विवाहमा २५ जना मात्रै सहभागी हुन पाउने

तनहुँ । तनहुँमा पनि दैनिक कोरोनाको संक्रमण बढ्दो छ । विवाह, व्रतबन्ध, तालिम लगायतका कार्यक्रम २५ जना मात्रै सहभागी हुन पाउने जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डिसीएमसी)ले निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यको संयोजकत्वमा आइतबार स्थानीय तहका जनप्रतिनिधिसहित बसेको बैठकले उक्त निर्णय गरेको हो ।

विवाह, व्रतबन्धमा २५ जनासम्म मात्रै उपस्थित हुन र उपस्थित सबैले स्वास्थ्य मापदण्ड अपनाउन समेत समितिले आग्रह गरेको छ ।

जिल्लाका हरेक तहलाई भारतसहित अन्य मुलुकबाट आउनेका लागि १० दिन अनिवार्य रुपमा क्वारेन्टिनमा राख्नका लागि स्थानीय तहले व्यवस्थापन गर्ने र सोको अनुगमनको व्यवस्था गर्नेसमेत निर्णय बैठकले गरेको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताउनुभयो ।

सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाच घर, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, सभा सम्मेलन, फुटसल, आमसभा जुलुस, रङ्गशाला, हाटबजार र मानिसहरूको भिडभाड हुने सबै खाले कार्यक्रम वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय समेत बैठकले गरेको छ ।

स्वास्थ्य मापदण्ड सवारी साधनले पालना गरे नगरेको, सवारीमा सिट सङ्ख्यासम्म मात्रै यात्रु राखे नराखेको अनुगमन समेत बढाउन ट्राफिक प्रहरीसँगै नेपाल प्रहरी र स्थानीय तहलेसमेत कारबाही गर्ने निर्णय गरेको छ ।

बैठकले शिक्षण संस्थामा भर्चुअल विधि प्रयोग सम्भव नभएमा एउटा कक्षामा २५ जनासम्म मात्र राखेर तथा स्वास्थ्य मापदण्ड पालना गरेर पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले नजिकिँदै गरेका परीक्षाहरू दुरीसहित स्वास्थ्य मापदण्ड पालना गरेर दुई सिफ्टमा गर्ने पनि निर्णय गरेको छ ।

त्यस्तै मठमन्दिर, चर्च, गुम्बा लगाएतमा भिडभाड नगरी स्वास्थ्य मापदण्ड अपनाई नित्य पूजा मात्रै गर्न समेत अनुरोध गरेको छ ।

कार्यालय र पसलमा स्यानिटाइजर र मास्क अनिवार्य गराउन र बिना मास्क प्रवेश निषेध गर्न समेत बैठकले निर्णय गरेको छ । होटेल, रेष्टुरेन्टहरुले बिहान ८ बजेदेखि राति ८ बजेसम्म मात्रै सेवा प्रदान गर्न अनुरोध गरेको छ ।

थपिए १० कोरोना सङ्क्रमित

तनहुँमा १० जना कोरोना सङ्क्रमित थपिएका छन् । आइतबार जिल्लाको भानु, भिमाद, ऋषिङ, शुक्लागण्डकी र व्यासमा सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । सबै सङ्क्रमित पोखरास्थित लाइफ केयर एण्ड डायग्नोष्टिक प्रालिमा गरिएको परीक्षणबाट पहिचान भएका हुन् ।

भानु नगरपालिका–८ का ६६ वर्षीय पुरुष, भिमाद नगरपालिका–४ का २७ वर्षीया महिला, भिमाद नगरपालिका–६ का ३१, ५५ वर्षीय पुरुष, ऋषिङ गाउँपालिका–१ का ४५ वर्षीय पुरुष, शुक्लागण्डकी नगरपालिका–२ का ५२ वर्षीय पुरुष, शुक्लागण्डकी–९ का २२, ५३ वर्षीय पुरुष र व्यास नगरपालिका–१ का ४० वर्षीया महिला र २६ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना जोखिम बढ्दै गएको सन्दर्भमा जिल्लामा दैनिकजसो सङ्क्रमित थपिने क्रम जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button