राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेपछि स्थानीय हर्षित

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–२ फेराका १ सय४७ घरमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् बलेपछि स्थानीय हर्षित भएका छन् ।
बिजुली बलेपछि स्थानीय ७५ वृद्ध वर्षीय काजी शेर्पाले खुसी हुँदै भन्नुभयो, सानो पेल्ट्रिक सेट बालिरहनेभन्दा ठुलो लाइन बाल्न पाउँदा धेरै ढुक्क भएको छ । यसअघि बत्ती मात्र मुस्किलले बाल्ने गरेकोमा अब अन्य काम गर्न पनि सजिलो हुने उहाँले बताउनुभयो ।
त्यस्तै, स्थानीय हिरा विकले पनि दिगो र भरपर्दो बिजुली बाल्न पाउँदा खुसीको सीमा नै नरहेको बताउनुभयो । दुर्गम गाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् बाल्न पाइएला भनेर कल्पना पनि नगरेको बताउँदै विकले भन्नुभयो अब विद्युतीय व्यवसाय गर्न सजिलो हुनेछ ।
नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले उज्यालो नगर बनाउने अभियानमा नगरपालिका लगातार लागिरहेको भन्दै विद्युत्को अधिकतम उपयोगमार्फत उत्पादनमूलक क्षेत्रमा प्रयोग गरी आयआर्जनको माध्यम बनाउन आग्रह गर्नुभयो ।
दिगो विद्युत्को व्यवस्थापन भएकाले कलकारखाना, साना तथा मझौला उद्योग सञ्चालन गरी रोजगार सिर्जना हुने भएकाले यसबाट स्थानीयले अधिकतम फाइदा लिनुपर्ने उहाँको भनाइ छ ।
वडाध्यक्ष मिङमारदोर्जी शेर्पाले आफू गाउँको विकासमा सधैँ लागिरहेको बताउनुभयो । नगरपालिकाको २१ लाख ६१ हजार ७ सय ५ रुपैयाँ, सल्लेरी च्याल्सा विद्युत् कम्पनीको नौ लाख १२ हजार ५ सय७६ रुपैयाँ तथा पाँच लाख ४ सय ६४ रुपैयाँ जनश्रमदान गरी जम्मा ३५ लाख ७४ हजार ७ सय ४५ रुपैयाँको लागत विद्युत् विस्तार भएको बेनी फेरा विद्युत् विस्तार समितिका अध्यक्ष सुम्बा शेर्पाले जानकारी दिनुभयो ।
एल.टी लाइन विस्तारमा गैरसरकारी संस्था मेड नेपालले पनि सहयोग गरेको छ । विद्युत् विस्तार समितिका अध्यक्ष शेर्पाका अनुसार बिजुली बलेसँगै आगामी दिनमा मिल, कागज उद्योग र फर्निचर उद्योग सञ्चालनमा ल्याउने योजना रहेको छ । विद्युत्ले गाउँवासीमा अहिलेसम्मकै धेरै खुसी दिएको उहाँको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्