तपाईँ सुन्दै हुनुहुन्छः

दैलेखको दुल्लुलाई स्मार्ट सिटी बनाइने  

सुर्खेत । सरकारले कर्णाली प्रदेशमा पर्ने दैलेखको दुल्लुलाई स्मार्ट सिटी बनाउने भएको छ ।
सङ्घीय मन्त्रिपरिषद्को चैत २५ मा बसेको बैठकले तत्काल वातावरण मूल्यांकनसहित खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
सरकारले बजेट सुनिश्चितता गर्दै दैलेखको दुल्लुसहित देशका १२ वटा स्थानलाई ‘स्मार्ट सिटी’ बनाउने निर्णय गरेको छ ।
दैलेखको दुल्लु, दाङको तुलसीपुर, कञ्चनपुरको भीमदत्त र डडेलधुराको अमरगढी, स्याङ्जाको वालिङ र रुपन्देहीको लुम्बिनीलाई स्मार्ट सिटी बनाउने निर्णय गरेको हो ।
झापाको गौरीगन्ज, रौतहटको चन्द्रपुर एवं मौलापुर, काभ्रे उपत्यका, भक्तपुरको गुन्डु–बालकोट क्षेत्र, र धनकुटालाई स्मार्ट सिटी बनाउने निर्णय गरिएको भवन निर्माण विभागमा महानिर्देशक नवराज प्याकुरेलले जानकारी दिनुभयो ।
वातावरण मूल्यांकनसहित खरिद प्रक्रिया अघि बढाउने गरी मन्त्रालयलाई निर्देशनसमेत आइसकेको सहरी विकास मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार ती सहर विकासका लागि बजेट सुनिश्चिततासहितको निर्णय भएको छ ।
सकारले प्रत्येक सहरका विकासका लागि १/१ अर्ब रुपैयाँका दरले १२ अर्ब रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको छ । सन् २०५० सम्ममा विश्वका ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या सहरी क्षेत्रमा बस्ने अनुमान छ । त्यसका लागि सुरक्षित खाना, सफा पानी यातायात, र पर्याप्त ऊर्जा सहरका मुख्य समस्या हुनेछन् ।
सहरलाई सामाजिक, वातावरणीय र आर्थिक रूपले चलायमान बनाउन निकै कठिन हुनेछ । त्यस कारण सहरलाई अहिल्यैदेखि स्मार्ट बनाउन थालिएन भनेपछि विकराल समस्या आउने सहरी विज्ञहरूको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button