तपाईँ सुन्दै हुनुहुन्छः

जनताका बीचमा गरिएका बाचा वर्तमान सरकारले पुरा गरिरहेको छ : मन्त्री गुरुङ

ओखलढुङ्गा  । प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले अघिल्लो निर्वाचनमा बाम गठबन्धनका तर्फबाट जनताका बीचमा गरिएका बाचा वर्तमान सरकारले पुरा गरिरहेको बताउनु भएको छ ।
ओखलढुङ्गाको मानेभञ्ज्याङस्थित भगवती माध्यमिक विद्यालयको शुभ हीरक जयन्ती महोत्सव उद्घाटन गर्नुहुँदै मन्त्री गुरुङले माओवादी र एमालेले संयुक्त रुपमा घोषणा–पत्र जारी गरेर बाम गठबन्धनका तर्फबाट जनताका बिचमा गरेका बाचा एमाले नेतृत्वको वर्तमान सरकारले पुरा गरिरहेको बताउनुभएको हो ।
पार्टी एकता लामो समय नटिकेका कारण माओवादीले सरकारलाई पर्याप्त सहयोग नगरे पनि एमालेले सबै चुनावी बाचा पुरा गर्ने अठोट लिएको मन्त्री गुरुङको भनाई थियो ।
केन्द्रमा धरहरा निर्माण, मेलम्चीको पानी राजधानीमा वितरण गर्नेदेखि राष्ट्रिय गौरवका दर्जनौँ आयोजना सम्पन्न गरिसकेको बताउनुहुँदै मन्त्री गुरुङले १ नम्बर प्रदेशमा पनि पूर्वाधार विकासमा उल्लेख्य काम भएको जानकारी दिनुभयो ।
उहाँले चुनावी बाचा अनुसार वृद्ध भत्ता ५ हजार दिने, युवालाई स्वरोजगार बनाउने, अशक्त, अपाङ्गता भएका व्यक्तिहरूलाई साहारा दिने दीर्घ रोगीलाई उपचारमा सहुलयीत दिनेसहितका लोकप्रिय कार्यक्रम सहितको बजेट ल्याउने सरकारको तयारी रहेको बताउनुभयो ।
“हामीले चुनावमा बोलेका सबै बाचा पुरा गर्छौ । थप जनताले सोचेको र चाहेको भन्दा सयौँ गुना गौरवका योजनाहरू हाम्रै कार्यकालमा सम्पन्न हुनेछन् ।’
ओखलढुङ्गाको समग्र विकास र समृद्धिका लागि ठुला ठुला योजनासहित काम अघि बढिसकेको दाबी गर्नुहुँदै मन्त्री गुरुङले जिल्लाको चौतर्फी विकासमा आफ्नो ध्यान केन्द्रित रहेको बताउनुभयो ।
जिल्लाको समृद्धिको लागि सडक, खानेपानी, विद्युत्, सञ्चारलगायत विकासमा गुरुयोजनासहित काम अघि बढेको उहाँको भनाई छ । जिल्लाको समग्र विकासको लागि सबै एकजुट भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
२०१७ सालमा स्थापना भएको भगवती माविले स्थापनाको ६० वर्ष पुगेको अवसरमा शुभ हीरक जयन्ती महोत्सव आयोजना गरेको हो ।
कोरोनाको कहरका बेला विशेष सुरक्षा सतर्कता अपनाएर कार्यक्रम सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार राईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button