तपाईँ सुन्दै हुनुहुन्छः

सक्रिय बन्यो काभ्रेको भूमि आयोग : लगत सङ्कलन सुरु हुँदै

काभ्रे । काभ्रेमा भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबास गर्नेहरूको लगत सङ्कलन कार्य सुरु भएको छ ।

जिल्लाका १३ वटा स्थानीय तहहरूलाई भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबास गर्नेहरूको लगत सङ्कलन कार्यका लागि सहज होस् भनेर आयोगले सबै स्थानीय तहमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरेसँगै लगतसंकलन सुरु गर्न लागेको हो ।

अन्तिम चरणमा पनौती र खानीखोलामा कार्यशाला गरेको आयोगले जिल्लाको सम्पुर्ण स्थानीय निकायमा सचेतना कार्यक्रम सम्पन्न गरिसकिएको जनाएको छ ।

भूमिसम्बन्धी समस्या समाधान आयोगका विज्ञ सदस्य जेन लामाका अनुसार गाउँपालिका तथा नगरपालिकाको वडा अध्यक्ष, वडा सचिव र कम्प्युटर प्राविधिकहरूलाई राखेर भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन कार्य गर्नका लागि आवश्यक पर्ने सूचनाहरू र कस्ता खाले समस्यालाई कुन फारम भर्ने र पीडितलाई बुझाउने भन्ने बारे गोष्ठीबाट बुझाइसकिएको बताउनुभयो ।

शाखा अधिकृत परशुराम थापाले अब भूमिसम्बन्धी समस्या समाधानका लागि आयोगसम्म पीडितहरू धाउनुपर्ने अवस्थासमेत नरहेको बताउनु हुन्छ । उहाँका अनुसार सबै वडा कार्यालयबाटै सबै विवरण भरेर आयोगसमक्ष पठाउन सकिने व्यवस्था मिलाइएकोले सम्बन्धित सबैले आ–आफ्नै वडा कार्यालयबाट विवरण भरी पठाउन सक्नेछन् ।

भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबास गर्नेहरूका लागि लगत सङ्कलन कार्यको म्याद पनि कम भएकोले समयमै विवरण भरी पडाउन उहाँले आग्रह गर्नुभयो ।

फारम वडा कार्यालयमा वडा स्तरीय सहजीकरण समितिबाट रुजु गराई भूमि समस्या समाधान इकाईमा पठाउने र इकाईले पनि रुजु गरिसकेपछि कम्प्युटरमा लगत प्रविष्टि गर्ने काम सुचारु हुने उहाँले बताउनुभयो ।

भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबास गर्नेहरूको सङ्ख्या काभ्रेमा यति नै छ भन्ने अवस्था अहिले नरहेको र त्यसको आधिकारिक तथ्याङ्क लगत सङ्कलन पछि मात्रै थाहा हुने विज्ञ लामाले बताउनुभयो ।

हामी लगत संकलनकोक्रममा छौ, केही समयपछि वास्तविक तथ्याङ्क आउँछ लामाले भन्नुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button