हिमपातका कारण नाम्चे–स्याङबोचेमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध
सोलुखुम्बु । वैशाख महिनामा परेको हिमपातका कारण सोलुखुम्बुको उच्च हिमाली क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको छ ।
बुधवारदेखि लगातार परेको हिमपातका कारण लुक्ला, स्याङबोचे लगायतका स्थानमा नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको स्याङबोचेमा कार्यरत कर्मचारी महेश भण्डारीले जानकारी दिनुभयो । हिमपातका कारण कार्यालयको सेवा पनि प्रभावित बनेको उहाँको भनाइ छ ।
आरोहण सिजन भएकाले विगतका दिनमा पर्यटकको चहलपहल भए पनि अहिले सुनसान जस्तै रहेको छ । नाम्चे क्षेत्रमा पनि हिउँ परेको नाम्चेका कपिन्द्र राईले बताउनुभयो । हिउँ परेसँगै गोक्यो क्षेत्रमा आफु हिँडेको भए पनि बाटैमा बस्न बाध्य बनेको सगरमाथा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु रोकायले बताउनुभयो ।
कोरोना कहरले थलिएको खुम्बुको पर्यटनले यस वर्ष भने केही आशा जगाउँदै आएको छ । फाटफुट रुपमा आएका पर्यटक हिमपातमा रमाउने गरेको बताइएको छ । मौसमका कारण पर्यटकको तालिकामा भने प्रभाव पर्ने पथप्रदर्शकहरूले बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्